कोशी

प्रदेश-१मा बजेट अधिवेशन आह्वानको सिफारिस

लीलावल्लभ घिमिरे |
जेठ २०, २०७८ बिहिवार ११:२३ बजे

विराटनगर :  प्रदेश–१ मन्त्रिपरिषद्ले जेठ २४ गते दिनको दुई बजेका लागि प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहानको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

जेठ २४ गते दिनको २ बजेका लागि प्रदेश सभाले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री हिक्मत कार्की जानकारी दिएका छन् । 


प्रदेश–१ संसद्का विपक्षी दलले बजेट अधिवेशनको माग गर्दै आएका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ ।

कोभिड महामारीको बहानामा समयमा अधिवेशन आह्वान नगरेको सरकारले बजेट आउने ५ दिन अगाडि प्रि–बजेट छलफल गर्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रिबजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x