कोशी

नीति तथा कार्यक्रममाथि सांसदको व्यंग्य : 'प्रधानमन्त्री बा सम्मान कार्यक्रम' छुटेछ, त्यो पनि ल्याए हुन्छ

इकागज |
जेठ २८, २०७८ शुक्रवार १७:२४ बजे

फाइल तस्‍बिर

विराटनगर : बिहीबार प्रदेश १ सभामा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शुक्रबार बोल्ने सांसदहरूले ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन भन्‍दै व्यंग्यात्मक सुझाव दिएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सरकारलाई ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन  व्यंग्यात्मक सुझाव दिएका हुन् ।
 
राष्ट्रपति आमा सम्मान कार्यक्रम आएकोप्रति टिप्पणी गर्दै कार्कीले भने, ‘प्रधानमन्त्री बा सम्मान कार्यक्रम छुटेछ, त्यो पनि ल्याए हुन्छ ।’ उनले अघिल्लो वर्षको 'फोटो कपी' मात्र भएको सरकारले नयाँ कार्यक्रम ल्याउन नसकेको बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सांसदले ‘झुटको पुलिन्दा’ र ‘नाराहरूको ठेली’ मात्र भएको टिप्पणी गरेका छन् । सरकारको आयु टिकाउने दाउपेचको लागि मात्र नीति तथा कार्यक्रम आएको उनीहरूको भनाइ छ ।


नेकपा माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्माले तीन वर्षदेखि प्रदेशका गौरवका योजना, रणनीतिक महत्त्वका योजना र अरुमा समेत बजेट हाल्ने हो भने ५० अर्ब रुपैयाँले पनि नपुग्ने बताए । नीति तथा कार्यक्रममा समेट्नपर्ने नाममा सबै विषय अटाउन खोजिएको भन्दै उनले केवल ‘महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने योजना’मात्र नसमेटिएको भन्दै व्यंग्य गरे ।

एमालेका सांसद विमल कार्कीले कोभिड महामारीको कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको बताउँदै सफलता वा असफलताबारे प्रदेशसभामा छलफल गरिनुपर्ने बताए । उनले गैरबजेटरी खर्चबारे छानबिन हुनुपर्ने माग गरे । नेकपा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले कार्यक्रम विगतमा जस्तै आश्वासन बाँड्ने पत्र मात्रै भएको आरोप लगाइन् । ताप्लेजुङका सदस्य प्रकाशप्रताप हाङ्गामले सीमामा तारबार लगाउन प्रदेश सरकारलाई आग्रह गरे । पर्खाल लगाउन नसकेपछि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने उनको भनाइ छ । नीति कार्यक्रममा सीमा तारबारको योजना नसमेटिएको बताउँदै उनले समेट्न आग्रह गरे ।

कांग्रेस सांसद शेखरचन्द्र थापाले आकर्षक नारा राख्ने तर त्यसलाई पूरा गर्ने गरी कार्यक्रम नल्याउने गरेको टिप्पणी गरे । झिना मसिनादेखि ठूला विषय ल्याउने सम्भाव्यता अध्ययन गर्ने भन्ने तर नगर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । कांग्रेस सांसद शिवनारायण सिंह गन्गाईले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमुखी भन्दा पनि छलछामको दस्तावेज भएको बताए । 
 


Author

थप समाचार
x