कोशी

सोलुखुम्बुका ८ मध्ये छ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

इकागज |
असार १२, २०७८ शनिवार ६:४६ बजे

सोलुखुम्बु : आठ स्थानीय तह रहेको सोलुखुम्बुमा छ स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रमसहितको बजेट ल्याएका छन् । असार १० गते भित्र स्थानीय सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार एक नगरपालिका सहित ६ स्थानीय तहले नीति कार्यक्रम सहितको बजेट ल्याएका हुन् ।

सोलुदुधकुण्ड नगरपालिका, थुलुङदुधकोशी गाउँपालिका, नेचासल्यान, सोताङ, महाकुलुङ र खुम्बु पासाङल्हामु गाउँपालिकाले बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै माप्यदुधकोशी गाउँपालिकाले कोरोनाका कारण तयारी नपुगेको भन्दै बजेट ल्याउन नसकेको जनाएको छ भने लिखुपिके गाउँपालिकाले वडातहबाट नै योजना छनौट हुन नसक्दा समस्या भएको जनाएको छ ।


जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाले रु.५९ करोड ३ लाख ५४ हजार २ सय ६४ को बजेट पारित गरेको छ । नगर उपप्रमुख कल्पना राइले ८औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । कुल बजेटको ३५ प्रतिशत शिक्षामा विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य तर्फ रु.४ करोड २२ लाख बजेट व्यवस्था गरेको छ । टेलिमेडिसीन सेवा सञ्चालन गरी नागरिकलाई विषेशज्ञ मार्फत परामर्श दिने व्यवस्था देखि वडा नं. १० स्थित टाप्टिङ स्वास्थ्य चौकीलाई प्राथमिक अस्पताल बनाउने लगायतका कार्यक्रम राखिएको उपप्रमुख राइले बताए ।

जिल्लाको गाउँपालिका मध्ये सबैभन्दा ठुलो रहेको थुलुङदुधकोशीले रु.४६ करोड ६२ लाख १६ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । छैटौँ गाउँसभाबाट पारित गरिएको कार्यक्रममा भूमिहिन तथा सुकुम्वासीलाई घडेरी उपलब्ध गराउने देखि नगरपालिका बनाउने सम्म रहेको छ ।

गाउँपालिका अध्यक्ष असिम राइकाअनुसार शहिद तथा वेपत्ता परिवारलाई मासिक रु.२ हजार निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रम पनि पारित गरिएको छ ।  यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि एकमुष्ट वर्षीक रु.५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ ।

यस्तै जिल्लाको सोताङ गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै रु.३५ करोड २९ लाख ५४ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाबाट पारित कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने उल्लेख छ ।

     यस्तै, नेचासल्यान गाउँपालिकाले सडकलाई पहिलो प्राथमीकतामा राखेर नीति तथा कार्यक्रम  सहितको बजेट पारित गरेको छ । बिहिबार सम्पन्न नवौँ गाउँसभाबाट रु.४७ करोड १८ लाख ४० हजारको बजेट तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । जसमध्ये ४ करोड बढी बजेट सडकमा विनियोजन गरिएको छ । अण्डामा आत्मनिर्भर बन्नेदेखि रोजगार कोष स्थापना लगायतको कार्यक्रमलाई आगामी वर्षको बजेटले समेटेको उहाँको भनाइ छ । 
 
विश्वको सर्वोच्च शिखर रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको ९ औँ गाउँसभाबाट रु.३७ करोड ४७ लाख ५० हजारको बजेट पारित भएको छ । स्वर्गीय गाउँपालिका अध्यक्ष निमदोर्जी पर्यटन सडकलाई पहिलो प्राथमकितामा राखेर बिहिबार नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

उक्त सडकको लागि रु.२ करोड बढी बजेट व्यवस्था गरिएको छ भने कोभिड–१९ नियन्त्रणका लागि रु.१ करोड बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिकाले रु.३१ करोड ६० लाख १८ हजार बजेट सहितको नीति तथा कार्यक्रम शुक्रबार पारित गरेको छ । बिहिबार गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम शुक्रबार अनुमोदन गरिएको गाउँपालिका प्रवक्ता सुभधनी कुलुङले जानकारी दिए ।
 
प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३५ करोड 

प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु.३५ करोड बढी बजेट विनियोजन गरिएको छ । आगामी वर्ष खर्च गर्नेगरी जिल्लाका ८ स्थानीय तहका लागी  प्रदेश सरकारबाट रु.३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो ।

 बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रूपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.२३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि रु.१२ करोड २७ लाख बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार सोलु दुधकुण्ड नगरपालिकालाई रु.५ करोड ८१ लाख, माप्य दुधकोशी गाउँपालिकालाई रु.२ करोड १७ लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई रु.२ करोड ७ लाख  र लिखुपिके गाउँपालिकालाई रु. २ करोड २२ लाख विनियोजन भएको  छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई रु.९ करोड ६८ लाख,  नेचासल्यान गाउँपालिकालाई रु.६ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई रु.२ करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई रु. ४ करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताए । रासस


Author

थप समाचार
x