कोशी

सुकेटार विमानस्थलमा नियमित उडान सुरु

अवतरण हुन नसकेर काठमाडौँमै फर्कियो विमान

इकागज |
असार २१, २०७८ सोमबार ११:२५ बजे

फाइल तस्‍बिर

फुङ्लिङ : ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । 
आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ । 

ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए ।  मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए ।सुकेटारमा  हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । 


तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ सात हजार १९० रुपैयाँ भाडा तोकिएको सुकेटार विमानस्थल कार्यालयले  जनाएको छ । निगमले ताप्लेजुङदेखि प्रदेश नं १  राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस
 


Author

थप समाचार
x