कोशी

प्रदेश १ सभाको अवरोध हट्यो, मन्त्रीले बोलेको रेकर्डबाट हटाएपछि बैठक सुरु

इकागज |
असार २२, २०७८ मंगलबार १७:५० बजे

विराटनगर : मन्त्रीले बोलेको रेकर्ड हटाउने भएपछि लामो समयदेखि अवरुद्ध भएको प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारबाट सुरु भएको छ । प्रदेश सभा बैठकमा मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने क्रममा सांसदलाई तोकेरै अमर्यादित शब्दको प्रयोग गरेको भन्दै नेकपा माओवादी केन्द्रले सदन अवरुद्ध गर्दै आएको थियो । सदन पुनः सुरु गर्न पटक पटक सर्वदलीय बैठक बस्दा समेत सहमति जुट्न सकेको थिएन् । मंगलबार दलहरूबीच सहमति भएपछि साडे ३ बजे बैठक सुरु भएको हो । माओवादी केन्द्रले यस अघि लगातार चार पटक सदन अवरुद्ध गरेको थियो । 

प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काविरुद्ध व्यक्तिगत लाञ्छना लगाउँदै मन्तव्य दिएको भन्दै माओवादीले सदन अवरुद्ध आएको थियो । माओवादी केन्द्रले मन्त्रीले आफ्नो बोली फिर्ता लिँदै माफी माग्नु पर्ने र संसदको रेकर्डबाट उनको भाषण हटाउनु पर्ने माग गर्दै आएको थियो ।


माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै मंगलबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीले सांसदमाथि लान्छित गरेर बोलेको रेकर्ड हटाइने जानकारी दिएका थिए । बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको बजेट माथिको छलफलमा भाग दिदै आफ्ना भनाइ राखेका थिए । 


Author

थप समाचार
x