खोटाङमा तीन दिने बाँस सम्मेलन आजदेखि सुरू

खोटाङ- कोशी प्रदेशमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ। 'जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस' भन्ने मुल नाराका साथ तीन दिने सम्मेलन बिहीबारदेखि खोटाङको दिक्तेलमा सुरु भएको हो।
सम्मेलनमा सातै प्रदेश र तीनैको तह सरकारको सहभागिता रहेको छ । विभिन्न प्रदेशका करिब २० वटा स्थानीय तह सम्मेलनमा सहभागी भएका छन् । त्यसैगरी बाँसका सामग्री बिक्रीवितरण गर्ने व्यवसायी तथा किसानको सहभागिता रहेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा १७ गते सम्म चल्ने उक्त सम्मेलनमा विभिन्न विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत गरिने नगरपालिकाकका प्रमुख तिर्थराज भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार सम्मेलनमा बाँस उत्पादनको समग्र अवस्था, बजारीकरण तथा त्यसमा संग्लन उद्योग व्यवसायको अवस्थालाई अध्यावधिक गरिने छ।
'बाँस संरक्षण तथा खेती विस्तार र उद्धम विकासमा देखिएका नविनतम प्रविधिहरूको बारेमा प्रचारप्रसार गर्ने उद्देश्य छ' भट्टराइले भने। बाँस आफैँमा चिनाउनै नपर्ने एउटा महत्वपूर्ण बिरुवाका साथै कृषकको घर आँगनमा समेत खेती गरिने लाभदायक वनस्पति रहेको उनको भनाइ छ । यसको प्रवर्द्धन गर्न नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेर स्थानीय किसानलाई प्रोत्साहन गरिएको भट्टराइले बताए।
'सम्मेलनमा दिक्तेलमा बाँस र उपयोगदेखि जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलतामा बाँसको भूमिकालगायत ११ वटा विषयगत छलफल हुनेछ', भट्टराईले भने।
नेपालमा स्थानीय स्तरमा बाँस मुख्यतया दुई जातको पाइन्छ। जसमा-बाँस, निगालो र कतै मालिङोसमेत समेटिएको छ। उनका अनुसार नेपालमा ५२ प्रजातीका बाँस पाइन्छ । नेपालमा मात्र नभएर विश्वको कूल जंगलको क्षेत्रफल मध्ये बाँसले मात्र ३.२% अर्थात ३६ करोड हेक्टर क्षेत्रफल ओगटेको छ भने विश्वका करिब २.५ अरब मान्छेले बाँसबाट बनेको सामग्री उपभोग गर्ने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया