कोशी

पल्टनेको नाती सांसदको बयान

‘हामीले नुन खायौँ हौँला, बदलामा धेरै खुन दिएका छौं’

बाबुराम भण्डारी |
साउन ३१, २०७८ आइतबार १६:४८ बजे

विराटनगर -  ‘म २११४६८२४ गञ्जमणि राईको नाती, २११५८४०२ रामशंकर राईको छोरा, मलाई थाहा छ हामीलाई बाहिरबाट हेर्दा झल्याकझुलुक राम्रो देखिएला । तर हामीभित्र भनिनसक्नुको पिडा छ’ प्रदेश १ का प्रदेशसभा सदस्य राजन राईले बेलायत सरकारलाई भने, ‘ जसले तिम्रो साम्राज्य बचाउन आफ्नो जीवन अर्पण गरेको छ, छोराछोरी श्रीमति वेवास्ता गरेर बर्षौंसम्म जंगलमा बसेर लडेका छन्, उनीहरुको सुरक्षा तिम्रो जिम्मेवारी हो ।’ बाजे र बाबु पल्टने भएपनि परिवारले भोग्नु परेको पिडा उनले आइतबार प्रदेशसभा पोखे । 

सांसद राईले आफ्ना हजुरबुवा गञ्जमणि राईको मलाया हालको मलेसिया युद्धका क्रममा २६ बर्षको उमेरमा मृत्यु भएको स्मरण गर्दै चिहान हेरेर चित्त बुझाउनुपर्ने अवस्थाको चित्रण गरे । बेलायतमा ९ दिनदेखि भूपू गोर्खाहरु अनसन बसिरहेको जानकारी दिंदै प्रदेश सांसद राईले भने, ‘गोर्खाहरुमाथि अन्याय भयो, हामीले नुन खाएका हौंला, थोरै नुनका बदलामा गोर्खाहरुले धेरै खुन दिएको छ ।’ 


उनले सरकार बेलायतमा अनसनरत भूपू गोर्खा सैनिकहरुको माग सम्बोधनका लागि उदासिन भएको आरोप लगाए । राईले सरकारको ध्यानाकर्षण गराउँदै गोर्खाहरुको माग सम्बोधनका लागि पहल गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।

सांसद राईले प्रथम र दोस्रो विश्वयुद्धमा हजारौं नेपाली जवानहरुले ज्यान गुमाउनु परेको, अंगभंग भएको भन्दै त्यसको न्याय बेलायतले दिनुपर्ने बताए । उनले नेपाल सरकारले समेत गोर्खाहरुको माग सम्बोधनका लागि कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिए ।

पल्टनेका नाती सांसद राईले भने ‘मैले यो किन भनेको भने बेलायतले गोर्खाहरुमाथि सारै धेरै अन्याय गरेको छ, गोर्खाको माग र मुद्दालाई सुनुवाई गर्नुपर्छ, नत्र भोलि इतिहासले हामीलाई माफ गर्ने छैन ।’

लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले भोक हड्तालमा बसेका छन् । उनीहरुले गोर्खाहरुलाई विभेदमा पारिएको बताइरहेका छन् । 
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x