कोशी

ब्राउनसुगरसहित ६ पक्राउ

इकागज |
भदौ २, २०७८ बुधबार १३:२ बजे

फाइल तस्बिर

झापा- झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित छ जना पक्राउ परेका छन् । 

बिर्तामोड-१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड-५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड-५ नयाँबसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।


इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका ५ बजे बिर्तामोड-१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड-५ की २१ वर्षीया सीता खतिवडालाई चार ग्राम ४५ मिलीग्राम ब्राउनसुगर, नगद, ब्राउनसुगर नाप्ने डिजिटल तराजु र दुई थान मोबाइलसहित पक्राउ गरेको उनले बताए ।
 
उनका अनुसार मङ्गलबार बेलुका ४ बजे बिर्तामोड-५ स्थित जात्रुबारीबाट सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई तीन ग्राम ३० मिलीग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको छ भने बिर्तामोड-५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा-५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड-५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र अस्थायी प्रहरी चौकी नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र उनीहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका छ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x