कोशी

कोभिड कहरबीच होटलमा सवा ३ अर्ब लगानी

इकागज |
मंसिर २५, २०७७ बिहिवार १५:४८ बजे

विराटनगर : कोभिड–१९ कहरबीच प्रदेश १ मा होटल खुल्ने क्रम रोकिएको छैन । औद्योगिक घरनाले समेत होटलमा लगानी गर्न थालेका छन् । केही समयअघि करिब डेढ अर्बको लगानीमा झापाको मेचीनगरमा ५ तारे होटल सञ्चालनमा आएको छ भने मोरङको विराट चोक र झापाको दमकमा ७५ करोडको लगानीमा पीएलओ ग्रुपले चाडै तीन तारे होटल सञ्चालनमा ल्याउँदै छ । 

मोरङको शुन्दरहरैंचा नगरपालिकको विराट चोकमा ५३ करोडको लगानीमा थ्री स्टार होटल खुलेको छ । पीएलओ ग्रुपले उक्त होटल सञ्चालनमा ल्याएको हो । गु्रपले झापाको दमक बजारमा पनि २२ करोडको लगानीमा त्यस्तै होटल सञ्चालनमा ल्याउँदै छ । विराट चोकमा १ विघा ५ कठ्ठामा बनेको उक्त होटलको नाम ‘नेपाली रिका’ दिएको छ । १० वटा भवन रहेको उक्त होटलको लगानी ५३ करोड रहेको होटलका सञ्चालक पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले बताए ।


होटलमा ६० वटा सुविधा सम्पन्न कोठा रहेका छन् । होटल आउँदो श्रीपन्चमीका दिनबाट सञ्चालनमा आउने दुलालको भनाइ छ । होटलमा ३० वटा भीआइपी, २५ वटा डिलक्स र ४ वटा प्रोसेन्टल स्वीट रुम रहेका छन् । होटल भित्र स्वीमिङ पुल, जिम खाना, मसाज सेन्टर, सानो स्टीमदेखि शैलुन र कपी सप समेत रहका छन् । होटलमा सेमीनार हलका अलवा साहाकारीसहित चारवटा रेस्टुरेन्ट रहेका छन् । होटलमा एक हजार जना अटाउने क्षमता भएका २ वटा पार्टी प्यालेससमेत रहेका छन् । होटलमा प्रति रुमको ३ हजार ५ सयदेखि ३५ हजार रुपैयाँसम्म भाडा छ । 

यसै गरी उक्त ग्रुपले नै झापाको दमकमा पनि विराट चोककै जस्तो होटल सञ्चालनमा ल्याउन लागेको छ । २२ करोडको लगानी रहेको उक्त होटलमा पनि ६० वटा रुम हरेका छन् । यसै गरी केही समयअघि मात्र झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । भुटान, भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित पूर्वको सीमामा उक्त होटल स्थापना भएको हो ।

मेचीनगर–८ जोरसिमलमा आठ विघा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । भेगास इन्टरटेन्मेन्ट प्रालिले उक्त होटल सञ्चालनमा ल्याएको हो । त्यसका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउन होटलमा लगानी गरेको बताए ।

होटलमा एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक कार्कीले बताए । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुल, ग्रीन गार्डेनगायत सुविधा छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न रुम छन् ।


Author

थप समाचार
x