कोशी

कांग्रेस महाधिवेशन

१३ जिल्लाको टुंगियो, मोरङमा अझै क्रियाशीलको किचलो

विवाद सुल्झिन असोज महिनासम्मै कुर्नुपर्ने संकेत

बाबुराम भण्डारी |
भदौ १९, २०७८ शनिवार ६:३५ बजे

फाइल तस्‍बिर

विराटनगर - प्रदेश १ का १४ जिल्लामध्ये मोरङबाहेक क्रियाशील विवाद सुल्झिएका १३ जिल्लामा शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । मोरङमा भने क्रियाशील सदस्यता विवाद कायमै रहेको छ । पार्टीको क्षेत्रीय सभापतिसमेत भइरहेका व्यक्तिहरूको क्रियाशील सदस्यता कटाइएको तथा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताको विषयमा किचलो कायमै छ । जसका कारण मोरङको विवाद सुल्झिन असोज महिनासम्मै कुर्नुपर्ने संकेत देखिएको छ । 

नेपाली कांग्रेसले प्रदेश १ का विवाद मिलिसकेका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापा जिल्लाको क्रियाशील सदस्यता भदौ १० गते पहिलो चरणमा सार्वजनिक गरेको थियो । 


त्यसैगरी दोस्रो चरणमा भदौ ११ गतेका दिन धनकुटा र भोजपुर तथा भदौ १५ गते तेस्रो चरणमा सुनसरी जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएर नामावली सार्वजनिक गरेको छ । नामावली टुंगिएका उदयपुर लगायतका जिल्लामा शुक्रबारदेखि वडाबाट क्षेत्रीय प्रतिनिधि चयनको काम सुरु गरेका छन् । तर मोरङमा भने सदस्यता विवाद नै नटुंगिएका कारण वडादेखि पालिका कार्यसमिति चयनसम्मको प्रक्रिया पछि धकेलिने देखिएको छ ।

कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले पालिका अधिवेशनको कार्यतालिका अनुसार वडा अधिवेशनसम्मको काम सम्पन्न गर्न मिल्नेगरी निर्णय गर्न केन्द्रीय समितिलाई सुझाव दिइएको बताए । ‘बैठक बसेर निर्णय गर्ने भनेको छ, क्रियाशील सदस्यताको विवाद टुंगिन अझै एक हप्ता जति लाग्न सक्छ, तर अहिलेसम्म अड्किरहेको छ’ सभापति लिम्बुले भने, ‘कुनै जिल्लामा शुक्रबारबाट वडा अधिवेशन सुरु भयो, कसैले शनिबारदेखि गर्दैछन्, हाम्रो अब त दोस्रो वा तेस्रो चरणमा गयो ।’
उनले पहिलो चरणमा क्रियाशिल सदस्यता विवाद समाधान समितिले नाम सार्वजनिक गर्नुपर्ने बताए । नामावली सार्वजनिक भएपछि त्यसमा कुनै त्रुटि भएको भए सच्चाउन २/३ दिन दिनुपर्ने बताए । 

‘कतै जिल्ला सभापतिको नाम छैन, कतै क्षेत्रीय सभापतिको छैन, कहीँ महासमिति सभापतिको छैनन्, पहिले त समितिले क्रियाशिलको नामावली सार्वजनिक गर्नुपर्‍यो’ उनले भने ‘आएको नामावलीलाई हामीले सच्चाउन पाउनुपर्यो, सच्याउनका लागि २/३ दिन ठाउँ राखेर दिनुपर्छ भनेका छौं ।’

मोरङमा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताबारे बढी विवाद कांग्रेस स्रोतले जनाएको छ । विवाद समाधानका लागि साउन ३० गते नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठित क्रियाशिल सदस्यता विवाद समाधान समितिको बैठक जेठ २० गते आइतबार बस्ने जानकारी आएको सभापति लिम्बुले बताए । सोही समितिले प्रकृया पुरा नभई सिफारिस भएका र नवीकरण र नयाँ सिफारिस संख्याको मापदण्ड भन्दा बढी भएका क्रियाशील सदस्यताबारे अन्तिम टुंगो लगाउने र नामावली सार्वजनिक गरेपछि मोरङमा पनि वडा तहदेखि अधिवेशन सुरु हुने जनाइएको छ ।

केही ठाउँमा वडा र क्षेत्रमार्फत आफू अनुकूल क्रियाशिल सिफारिस भएकोले विवाद भएको बताइएको छ । त्यस्तै पुराना सदस्यको नवीकरणभन्दा नयाँ क्रियाशीलको संख्या धेरै बनाउन नमिल्ने कुरा क्रियाशील सदस्यतासम्बन्धी कार्यविधिले तोकेकोले त्यसको कार्यन्वयन गर्नुपर्ने माग भइरहेको छ । मोरङमा नवीकरण भएका पुराना क्रियाशील सदस्यको संख्या १६ हजार रहेको छ । थप करीव १४ हजार क्रियाशिल सदस्यको नाम नयाँ सिफारिस तथा समायोजनबाट आएको जनाइएको छ । यता क्रियाशील सदस्यताकै टुंगो नलागे पनि आकांक्षीहरू भने सामाजिक संजालको प्रयोग र घरदैलो गर्दै भोट माग्न थालेका छन् । कतिपय आकांक्षीहरू एक्लाएक्लै र केही समूह नै बनाएर आफ्नो माहौल बनाउन लागिपरेका छन् ।

क्षेत्रीय प्रतिनिधि जितेपछि मात्रै गाउँ, नगरको सभापतिको उम्मेदवार हुन पाउने एवं त्यहाँभन्दा  उपल्लो पदका लागि मतदाता र उम्मेदवार पनि हुन पाउने व्यवस्थाका कारण वडा तहबाट चुनिने क्षेत्रीय प्रतिनिधि पदका आंकाक्षी धेरै देखिएका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको पछिल्लो कार्यतालिका अनुसार भदौ १८ गते शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । क्रियाशील विवाद टुंगो नलागे पनि प्रदेश १ को राजधानी रहेको विराटनगर महनगरपालिकामा महाधिवेशनको चहलपहल बढेको छ । १९ वटा वडा रहेको विराटनगरमा क्षेत्रीय प्रतिनिधिदेखि वडा सभापतिसम्मका दावेदार एकपछि अर्को थपिंदै गएका छन् ।

आगामी महाधिवेशनमा पार्टीको केन्द्रीय सभापतिका लागि दाबी गरिरहेका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको गृह वडा ७ मा भने सहमतिमै क्षेत्रीय प्रतिनिधि लगायतका सबै पदमा सर्वसम्मत गराउन पहल भइरहेको जनाइएको छ । उक्त वडामा पुराना क्रियाशील करिब पाँच सय रहेका छन् ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x