कोशी

इलाममा सबैभन्दा धेरै, सोलुखुम्बुमा शून्य

प्रदेश १ मा स्थानीय तहका १८२ जनप्रतिनिधिले छाडे एमाले

साढे ५ प्रतिशत जनप्रतिनिधि नेकपा (एस) मा

बाबुराम भण्डारी |
भदौ २३, २०७८ बुधवार १३:३४ बजे

विराटनगर - प्रदेश १ मा नेकपा एमालेका १८२ जना जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले दल परिवर्तन गर्न चाहने स्थानीय तहका जनप्रतिनिधिलाई मंगलबार ५ बजेसम्मको समय दिएको थियो । तोकिएको समयभित्र १४ जिल्लाका निर्वाचन कार्यालयहरूका अनुसार प्रदेश १ मा २ जिसस प्रमुख, २ उपप्रमुख, ५ स्थानीय तहका प्रमुख, ३ उपप्रमुख, ३५ वडाध्यक्ष र १२९ कार्यपालिका तथा वडा सदस्यहरुले उक्त अवधिभित्र एमाले छाडेर नेकपा (एस) रोजेको सनाखत गरेका छन् । प्रदेशसभाका १० जना एमाले सांसदहरुले भने भदौ १६ गते नै नेकपा (एस) रोजेको सनाखत गरिसकेका छन् ।

प्रदेश १ मा १३७ स्थानीय तहमा ६ हजार ४३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमा नेकपा एमालेले २८ वटा नगरपालिकाको मेयर, ३७ उपमेयर, ४१ गाउँपालिकामा अध्यक्ष, ३८ उपाध्यक्ष, ५५४ वडाध्यक्ष, १२५४ वडा सदस्य, ६३४ महिला सदस्य र ६२३ जना दलित महिला सदस्य गरी कुल ३ हजार २ सय १९ वटा पद जितेको निर्वाचन आयोगले जनाएको छ । उक्त संख्या अनुसार प्रदेश १ मा एमाले छाडेर नेकपा (एस) रोज्ने स्थानीय तहका जनप्रतिनिधिको संख्या ५ दशमलव ६५ प्रतिशत रहेको छ । 


सोलुखुम्बुमा कुनै तहका जनप्रतिनिधिले पनि नेकपा एमाले छाडेनन् । २ प्रदेशसभा सदस्यसहित सोलुमा १२५ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका छन् । 
इलाममा भने प्रदेश १ कै सबैभन्दा धेरै ५८ जनाले नेकपा (एस) रोजेका छन् । एमाले छाड्ने मध्ये पुर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्रबाट मात्रै ५५ जना रहेका छन् । एमाले नेता सुबासचन्द्र नेम्वाङको क्षेत्रबाट भने ३ जना जनप्रतिनिधिले एमाले छाडेका छन् ।

जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराइली, सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राई, जिसस सदस्य पूर्णबहादुर बस्नेत र माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईसहित १० वडाध्यक्ष र ४४ जना सदस्यले एमाले त्यागेका छन् । इलाममा स्थानीय तहमा २८७ जना जनप्रतिनिधि एमालेबाट विजयी भएका थिए ।

ओखलढुंगामा एकजनाले मात्रै नेकपा (एस) राजेका छन् । एमाले छाड्नेमा लिखु गाउँपालिकाको कार्यपालिका सदस्य मावर सुनुवार रहेका छन् । उदयपुरमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकीसहित ५ वडाध्यक्ष, २० जना वडासदस्य र जिसस सदस्य १ जना गरी २८ जनाले नेकपा (एस) मा दल परिवर्तन गरेका छन् । मेयर चौधरी नेकपा (एस) को केन्द्रीय सदस्य पनि हुन् । उदयपुरमा नेकपा एमालेबाट १९७ जनाले स्थानीय तहमा जितेका छन् ।

एमाले नेता योगेश भट्टराईको जिल्ला ताप्लेजुङमा जिसस उपप्रमुखसहित २ वटा गाउँपालिकाका उपाध्यक्ष, १ जिसस सदस्य, ५ वडाध्यक्ष र कार्यपालिका, नगर र गाउँसभा सदस्य १२ गरी २१ जनाले नेकपा (एस) रोजेका छन् । 

जिसस उपप्रमुख देवीमाया नेपाली, मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फे, ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पौडेल भट्टराई, फुङलिङ नगरपालिकाका २ का वडाध्यक्ष मोहन न्यौपाने, मैवाखोला गाउँपालिका २ का वडाध्यक्ष सुरेन्द्र लिम्बूले नेकपा (एस) मा सनाखत गरेका हुन् । आइतबार सनाखत गरेका जिसस सदस्य निमातेञ्जी शेर्पाले भने मंगलबार आफ्नो फिर्ता माग गर्दै जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा निवेदन दर्ता गराएका छन् । ताप्लेजुङमा १७३ जना एमालेबाट निर्वाचित भएका छन् ।

संखुवासभामा जिसस प्रमुख सुमन शाक्यसहित १ जिसस सदस्य, १ स्थानीय तह उपप्रमुख, ३ वडाध्यक्ष र ९ सदस्यसहित १५ जनाले नयाँ दल नेकपा (एस) रोजेका छन् । 

पाँचथर र खोटाङमा ११/११ जनाले एमाले छाडेका छन् । पाँचथरमा २ वडाध्यक्ष र ९ सदस्य तथा खोटाङमा जिसस प्रमुख बबी चाम्लिङ, सदस्य उदयबहादुर कार्की र रञ्जना राई, बराहपोखरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भुवलराज राई र अन्य ७ सदस्यले एमाले छाडेका छन् । एमालेबाट जितेका २३० जनप्रतिनिधि मध्ये खोटाङमा ११ जनाले एमाले पार्टी छाडेका छन् ।

त्यसैगरी धनकुटा र मोरङमा पनि ८/८ जनाले नेकपा (एस) रोजेका हुन् । मोरङमा बुढिगंगा गाउ“पालिका ४ का वडाध्यक्ष कासिम मिया“, ५ का वडाध्यक्ष रमेश खनाल, रतुवामाई नगरपालिका १० का वडाध्यक्ष टंक ढकाल र उर्लाबारी १ का वडाध्यक्ष मचिन्द्र कुमार कार्कीले नेकपा (एस) रोजेर निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् । मोरङमा एमालेबाट २४३ जनप्रतिनिधिले जितेका थिए । धनकुटामा १ उपप्रमुख, ३ वडाध्यक्ष र ४ सदस्य गरी ८ जनाले एमाले छाडेका छन् । नेकपा (एस) रोज्नेमा जिसस उपप्रमुख बंगला राई, पाख्रिबास नगरपालिका ४ का वडाध्यक्ष सोभित निरौला, साँगुरीगढी गाउँपालिका ३ का वडाध्यक्ष राजकुमार राई र शहिदभुमी गाउँपालिका ३ का वडाध्यक्ष योगन्द्र कुमार राई रहेकाछन् । धनकुटाका ७ स्थानीय तहसहित २८१ जना जनप्रतिनिधि एमालेबाट विजयी भएको एमाले नेता नैन रुचालले जानकारी दिए ।

झापामा जिससका १ सदस्य, १ वडाध्यक्ष र ५ सदस्य गरी ७ जनाले नेकपा (एस) रोजेका छन् । जिसस सदस्य पदम लिम्बु र शिवसताक्षी नगरपालिका ७ का वडाध्यक्ष नविन इजमसहित ७ जना समाजवादीमा प्रवेश गरेका हुन् । झापामा नेकपा एमालेबाट ५०८ जना जनप्रतिनिधि स्थानीय तहमा निर्वाचित भएको जनाइएको छ ।
भोजपुरमा २ वटा स्थानीय तहका उपप्रमुख र ४ वडासदस्य गरी ६ जनाले एमाले छाडेका छन् । भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई र टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले नयाँ पार्टी रोजेका हुन् ।

सुनसरीमा एमालेबाट निर्वाचित २९९ जना स्थानीय तहका जनप्रतिनिधि मध्ये ६ जना सदस्य नेकपा (एस) तिर सनाखत गरेका छन् । तेह्रथुममा १ प्रमुख र १ वडाध्यक्षले नेकपा (एस) दल रोजेको सनाखत गरेका हुन् । प्रदेश १ मा जनता समाजवादीका निर्वाचित भएका कुनैपनि जनप्रतिनिधि लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत नगरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x