कोशी

कोरोना सङ्क्रमित घटेपछि  हलेसी मन्दिर खुलाइयो

इकागज |
भदौ २९, २०७८ मगलवार ६:४३ बजे

खोटाङ- चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आइतबार बसेको बैठकले  मन्दिर खुला गराउने निर्णय गरेको थियो । 

गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदैआएको नित्य/नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेलुकाको नित्य/नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो । 


ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवम् तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रो पटक भएको हलेसी विकास समितिले जनाएको छ । 

हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्च लगायतमा दैनिकरुपमा गरिने नित्य/नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । 'सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्ने निर्णय गरिएको छ', उनले भने, 'स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको विषयमा आनुगमन गर्न प्रहरी परिचालन गरिएको छ ।'

दश स्थानीय तह रहेको जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । गत वैशाखयता दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण दुई हजार ९२६ मा देखिएको जिल्लामा १५ जनाको निधन भएको छ ।  

सङ्क्रमितको सङ्ख्या धेरै भएपनि हालसम्म निषेधाज्ञा लागू नगरिएका जिल्लामा ३९ हजार ९८६ लाई पहिलो तथा २० हजार १७४ लाई दोस्रो खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हरेक नागरिकलाई खोप उपलब्ध गराउने सरकारको नीति अनुसार जिल्लाका दशवटै स्थानीय तहमा खोप लगाउने व्यवस्था मिलाइएको खोप समन्वय समितिका संयोजकसमेत रहनुभएका प्रजिअ शर्माले जानकारी दिए ।


Author

थप समाचार
x