कोशी

कांग्रेस महाधिवेशन :

मोरङका १७ पालिकाको गाउँ/नगर समितिको आज मनोनयन

एक्लो महानगरमा सभापतिका पाँच आकांक्षी

बाबुराम भण्डारी |
असोज १५, २०७८ शुक्रबार १०:४० बजे

विराटनगर- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार प्रदेश १ को एकमात्र विराटनगर महानगर समितिसहित मोरङका १७ वटै पालिकामा गाउँ/नगर समितिको निर्वाचन प्रक्रिया शुरु हुँदैछ । प्रदेश १ का १४ जिल्लामध्ये १३ वटा जिल्लाका अधिकांश गाउँ/नगरमा यसअघि नै अधिवेशन सम्पन्‍न भइसकेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर महानगर समितिको अधिवेशनका लागि नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय मतदान केन्द्र तोकिएको छ । शुक्रबार विहान ९ बजे मतदाता नामावली प्रकाशन भएको छ । त्यसपछि नामावलीमा भएको त्रुटि सुधारको समय दिइएको छ । शुक्रबार नै ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । त्यसपछि दाबी विरोध, मनोनयन फिर्ता हुँदै साँझ ५ बजे उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशित हुने मोरङका निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए ।


सभापतिका उम्मेद्‌वारले ५ हजार, उपसभापति र सचिवले ३ हजार, सहसचिव र सदस्यले २ हजार मनोनयन शुल्क तिर्नुपर्ने उनले बताए । थप २ सय रुपैयाँ मनोनयन फारम शुल्क तिर्नुपर्ने जनाइएको छ । 

निर्वाचन समितिका अनुसार शनिबार विहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । विराटनगर महानगर अधिवेशनका लागि वडा समितिका सभापति र निर्वाचित क्षेत्रीय प्रतिनिधि गरी ६ सय ३४ मतदाता रहने जनाइएको छ ।

नेपाली कांग्रेसको विधानअनुसार गाउँ/नगर अधिवेशनबाट मोरङका १७ पालिकामा सभापति एक जना, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई जना निर्वाचत हुने छन् । कोषाध्यक्षपछि निर्वाचित कार्यसमितिले मनोनित गर्ने प्रावधान छ । सदस्यहरुको संख्या भने मतदाता संख्याको आधारमा कायम हुने छ । १९ वटा वडा रहेको विराटनगर महानगरमा सभापतिसहितका पदाधिकारी र सदस्य गरी ५७ जना निर्वाचित हुने छन् ।

खुल्लातर्फ २२ र समावेशी १६ गरी थप ३८ जना सदस्य पनि निर्वाचित हुने छन् । सबै गरी ९२ जनाको महानगर समिति निर्वाचित हुने जनाइएको छ । उक्त निर्वाचित कार्यसमितिले १० प्रतिशत सदस्य भने पछि मनोनयन गर्ने व्यवस्था रहेको छ ।

महानगर सभापतिमा पाँच आकांक्षी
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार हुने विराटनगर महानगर अधिवेशनमा सभापतिसहित सात पदाधिकारीका लागि डेढ दर्जन बढि आकांक्षी देखिएका छन् । सभापतिका पदका लागि एक साताअघि नै पाँच जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अधिवेशन हुन दुई दिन बाँकी रहँदा उपसभापतिदेखि सहसचिवसम्मका उम्मेद्‌वार मैदानमा देखिएका छन् । विराटनगर महानगर सभापतिमा दीपक चापागाँई, अरुण न्यौपाने, सन्तोष न्यौपाने, कृष्ण कार्की र प्रकाश दाहालले उम्मेदवारी घोषणा गरेका छन् । सन्तोष बाहेकका तीनजना कांग्रेसमा पौडेल-कोइराला समूहका हुन् । सभापतिका दावेदार कार्की भने सिटौला लाइनका विराटनगरका मेयर भीम पराजुलीसँग नजिक छन् । उनले मेयर पराजुलीकै साथ सहयोगमा उम्मेद्दवारी दिने बताउँदै आएका छन् ।

सन्तोष न्यौपाने संस्थापन देउवा लाइनबाट नगर सभापतिको उम्मेद्‌वारी बन्‍न लागेका हुन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले सहयोग गरेका छन् । दिपक चापागाँई, अरुण न्यौपाने र प्रकाश दाहाल पौडेल-कोइराला समुहमा स्पष्ट खुलेका विद्यार्थी नेता हुन् । उनीहरुका कारण पौडेल-कोइराला समुहलाई टिम मिलाउन दवाव समेत बढेको छ ।

पौडेल-कोइराला समुहबाट एक जनामात्र उम्मेद्‌वार हुने सोही समुहका नेताहरुले बताउँदै आएका छन् । तर त्यो एक जना को हुने भन्‍ने अहिलेसम्म टुंगिन सकेको छैन । पौडेल-कोइराला समूहबाट पनि एकमात्रै उम्मेद्‌वार बनाउने भन्दै जिल्ला स्तरका केही नेताहरुले सोमबार धनकुटाको नाम्जे पुगेर छलफल गरेका थिए । उक्त छलफलले अरुण न्यौपानेलाई अघि सार्ने सहमति गरेको भनिएपनि सभापतिका प्रत्यासी चापागाँई र दाहालले त्यो छलफलको अर्थै नहुने भन्दै असन्तुष्टि जनाइसकेका छन् ।

त्यसैगरी दुइई उपसभापतिमा प्रवीण जोशी, निरज कोइराला र धनराज तामाङले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई सचिवका लागि सुजन दाहाल, तेजिन्द्र भट्टराई, झुमा निरौला गौतम र पेशल ढुंगेल आकांक्षी देखिएका छन् । दुई सहसचिव पदका लागि सचिन पोखरेल, दिवश नेपाल, गिरिशकुमार कोइराला र शिव पराजुली ‘शिशिर’ चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् ।

शिक्षक बने वडा सभापति, मुद्दाले अन्यौल
यता विराटनगरकै वडा नम्बर ११ को वडासभापतिमा विजयी भएका रामसुन्दर राजवंशी सरकारी शिक्षक भएको भन्दै उनीसँग निर्वाचनमा पराजितले उच्च अदालत विराटनगरमा रिट दायर गरेपछि शुक्रबारदेखि शुरु हुने निर्वाचन प्रक्रिया नै अन्यौलमा परेको छ । 

शिक्षकले वडा सभापति जितेको भन्दै उनीसँगै पराजीत सञ्जय नेपालले उच्च अदालत विराटनगरमा असोज १० गते रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरले विपक्षीका नाममा कारण देखाउ र अन्तरिम आदेशसहित शुक्रबारका लागि दुवै पक्ष हाजिर हुन आदेश दिएको थियो ।

नेपालले वडा सभापतिमा विजयी भएका राजवंशीको उम्मेदवारी खारेज हुनुपर्ने र निकटतम् प्रतिद्वन्द्वीलाई विजयी घोषणा गर्नुपर्ने दाबी गर्दै रिट दायर गरेका थिए । नेपालले शिक्षा ऐनअन्तरगत शिक्षक पेशामा रहेका व्यक्ति सक्रिय राजनीतिमा रहन नसक्ने दाबी गरेका छन् । वडा सभापतिमा निर्वाचित राजवंशी विराटनगर-१८ स्थित बुधनगर फँडानीको राम प्राविका राहत शिक्षक हुन् ।

उक्त मुद्दाका कारण मतदाता नामावली प्रकाशनमा जटिलता आउनसक्ने र विराटनगरको निर्वाचन कार्यक्रम प्रभावित हुनसक्ने भन्दै निर्वाचन समिति भने अन्यौलमा परेको छ । रिट माथिको छलफलका लागि उच्च अदालतले सम्बन्धित दुवै पक्षलाई आज शुक्रबार ११ बजे अदालतमा झिकाएको जनाइएको हो । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले अदालतले दुवै पक्षलाई बोलाएको जानकारी दिंदै विवाद आजै अन्त्य हुने दाबी गरे । 

‘अदालतमा एउटा विवाद छ, त्यो कुरो आजै मिलिहाल्छ’ उनले भने, ‘आजको मनोनयन रोकिंदैन, अदालतको प्रक्रियापछि अरु कुरा पनि अघि बढ्छ ।’

राप्रपाबाट आएका ५५५ क्रियाशिलले उम्मेद्‌वार बन्‍न पाउने
यसैबीच कांग्रेससँगको एकता प्रक्रियापछि पनि क्रियाशिल सदस्यता नपाएका राप्रपा (सुनिल बहादुर थापा) समुह सम्वद्ध ५५५ जना कांग्रेस कार्यकर्ताको क्रियाशिल सदस्यता आएपछि उनीहरुले गाउँ/नगर अधिवेशनमा सभापति बाहेकका पदमा उम्मेद्‌वार बन्‍न पाउने भएका छन् । समयमै क्रियाशिल नआएका कारण क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा भने उनीहरुले उम्मेद्‌वार बन्‍न पाएनन् । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले छुटेका सवैको क्रियाशिल आएको जानकारी दिए ।

उनले एकजनाको मात्रै छुटेको भन्‍ने गुनासो आएको बताए । तर ठुलो संख्यामा कसैको पनि अहिलेसम्म क्रियाशिल छुटेको छ भनेर जानकारी नआएको घिमिरेले बताए । उनले क्रियाशिल आएसँगै उनीहरुलाई गाउँ/नगर समितिको निर्वाचनमा उम्मेद्‌वार बन्‍नका लागि निर्देशन गरिसकेको पनि जानकारी दिए ।

वडा समितिको निर्वाचन अघि नै क्रियाशिल नआउँदा राप्रपा समुहले निर्धारित निर्वाचन प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा निषेधाज्ञायुक्त परमादेशको माग गर्दै रिट दर्ता गरेका थिए । 

रिटपछि कांग्रेसको वडा अधिवेशन अन्यौलमा परेको थियो । तर उक्त रिटमा उच्च अदालतले निवेदकहरुको संवैधानिक तथा कानुनी हकको प्रयोजनको सन्दर्भ प्रासङ्गिक नभएको तथा नेपाली कांग्रेस राजनीतिक दलको आन्तरिक क्रियाशील सदस्यता व्यवस्थापनसँग अन्तर्निहित रहेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण वडा अधिवेशन सम्पन्‍न भएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x