कोशी

कांग्रेस महाधिवेशन

विराटनगर महानगर सभापतिमा चार प्रतिष्पर्धी, ७१ सदस्य निर्विरोध

बाबुराम भण्डारी |
असोज १६, २०७८ शनिवार १०:३८ बजे

विराटनगर- नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा चार जनाबीच आज निर्वाचन हुँदैछ । दीपक चापागाईं, सन्तोष न्यौपाने, कृष्ण कार्की र अरुणकुमार न्यौपानेले सभापति पदका लागि शुक्रबार मनोनयन दर्ता गरेका थिए । उनीहरूबीच सर्वसम्मत गराउन केन्द्रीय नेतृत्वले केही प्रयास गरेपनि उनीहरूले उम्मेद्‌वारी फिर्ता नलिएपछि निर्वाचन हुन लागेको हो ।

कांग्रेस केन्द्रीय नेताहरूको पकड रहेको विराटनगरमा महानगर सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका सन्तोष न्यौपाने चुनाव लड्दैछन् । बाँकी तीनजना पौडेल-कोइराला समूहका उम्मेद्‌वारहरू हुन् ।


संस्थापन इतरबाट केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, महेश आचार्य र मिनेन्द्र रिजालले एकल उम्‍मेद्‍वारका लागि प्रयत्न गरेपनि उनीहरूले उम्‍मेद्‍वारी फिर्ता लिएनन् ।

सभापति उठेका अरूण न्यौपाने वर्तमान महानगर समितिका कार्यवाहक सभापति हुन् । वर्तमान सभापति भीम पराजुली विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि न्यौपानेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । आगामी नगर सभापतिमा पनि न्यौपानेलाई मेयर पराजुलीले नै अघि सारेका हुन् ।

सभापतिका उम्मेद्‌वार कृष्ण कार्की नेविसंघका पूर्वसहमहामन्त्री हुन् । चापागाँई अघिल्लो पटक सभापतिमा पराजित उम्मेद्‌वार हुन् । उनी संस्थापन इतरमै भएपनि विराटनगरका मेयर पराजुलीका कटु आलोचक भएर राजनीतिमा सक्रिय छन् । चापागाँईले आफु निकट युवाहरूसहित शुक्रबार मनोनयन दर्ताका क्रममा शक्ति प्रदर्शन समेत गरेका थिए ।

संस्थापन पक्षका उम्मेद्‌वार सन्तोष न्यौपानेले नेविसंघको राजनीतिबाट अघि बढ्दै तरुण दल महानगर समितिको सभापति समेत भइसकेका छन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले प्रत्यक्ष समर्थन गरेका छन् ।

७१ सदस्य निर्विरोध
१९ वडा रहेको विराटनगर महानगरमा प्रत्येक वडाबाट एक महिला अनिवार्यसहित निर्वाचित हुने कुल ५७ जना सदस्य मध्ये ५० जना सर्वसम्मत भइसकेका छन् । त्यसैगरी समावेशीतर्फ खस आर्य, दलित, आदिवासी जनजाती, मधेसी, अल्पसंख्यक, मुस्लिम, थारु गरी ३८ पदमा २१ जना सदस्य निर्विरोध भएका छन् ।

वडा नम्बर २, ५, ६ र १५ मा मात्रै चुनाव हुँदैछ । विराटनगर महानगर समितिमा निर्वाचन प्रक्रियाबाट ९५ जना सदस्य र ७ जना पदाधिकारी चयन हुने व्यवस्था छ । तर केही समावेशी पदमा मनोनयन नपरेका कारण निर्वाचित समितिको संख्या ९२ कायम हुने जनाइएको छ । ९२ सदस्यीय निर्वाचित कार्यसमितिले पछि १० प्रतिशत सदस्य मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ । 

निर्वाचन समितिका अनुसार महानगर समितिको दुईवटा उपसभापतिमा इन्दु सुवेदी (खतिवडा), धनराजकुमार गुरुङ, दीपेन्द्रकुमार स्वर्णकार, निरज कोइराला र प्रवीण जोशी भिड्दैछन् । त्यसैगरी दुई सचिवमा सुजन दाहाल, पेशल ढुङ्गेल, झुमा निरौला र तेजिन्द्र भट्टराई प्रतिष्पर्धामा छन् । 

दुई सह-सचिव पदका लागि जस्मिन कार्की, दिवस नेपाल, गिरिशकुमार कोइराला, मुनाजिर हुसेन, सचिन पोखरेल र शिवप्रसाद पराजुलीले आफ्नो मनोनयन कायमै राखेका छन् । शनिबार विहान ८ बजेदेखि विराटनगर-१ स्थित कांग्रेस पार्टी कार्यालयमा मतदान कार्य सुरु गर्ने तयारी भएपनि विहानैदेखि विराटनगरमा पानी परेको छ । पानीका कारण मतदान प्रक्रिया अघि बढाउन कठिनाई भएकोले एक घण्टा ढिलो गरेर ९ बजेदेखि मतदान सुरु गर्ने तयारी भइरहेको जनाइएको छ । सभापतिसहित पदाधिकारीहरूलाई ६ सय ८१ जनाले मतदान गर्ने सहायक निर्वाचन अधिकृत जय बहादुर भुजेलले जानकारी दिए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x