कोशी

आजदेखि प्रदेश १ को हिउँदे अधिवेशन, मुख्यमन्त्रीले विश्वासको मत लिने मिति अनिश्चित

इकागज |
असोज २२, २०७८ शुक्रवार १२:२० बजे

विराटनगर- प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन मुख्यमन्त्री भीम आचार्यले नेतृत्व गरेको दल नेकपा एमाले प्रदेश १ मा पनि विभाजन भएको ३० भित्र विश्वासको मत लिने उदेश्यले समेत बोलाइएको हो । शुक्रबार २ बजे आह्वान गरिएको नवौँ अधिवेशन सुरु हुन लाग्दा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने यकिन तिथिमिति टुंगो लागेको छैन ।

प्रदेशसभा नियमावलीको नियम १२८ को उपनियम (१) मा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्ने सूचना प्रदेशसभाका सचिवलाई दिनुपर्ने व्यवस्था छ । उपनियम (२) मा त्यस्तो सूचनामा विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिन अगावै दिनुपर्नेछ भनि उल्लेख छ ।


मुख्यमन्त्री आचार्यले नेतृत्व गरेको नेकपा एमाले संसदीय दलमा ५१ सांसद थिए । १० जनाले दल विभाजनताका नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमाले संसदीय दलका सदस्यको संख्या सभामुखसहित ४१ कायम छ । सभामुख मत बराबर भएको अवस्थामा मात्रै निर्णायक हुने भएकोले उनको भूमिका सामान्य अवस्थामा खासै महत्वपूर्ण हुँदैन ।

प्रदेशसभामा सबैभन्दा ठुलो दल भएपनि एमाले एक्लैको बहुमत पुग्‍न कठिन छ । मुख्यमन्त्री आचार्यले आफु नेतृत्वकै सरकारलाई सहमतीय सरकारका रुपमा अघि बढाउन विपक्षी दलहरूलाई आग्रह गरिसकेका छन् । तर त्यसलाई विपक्षी दलहरूले सत्ता लम्ब्याउने खेलको संज्ञा दिँदै आएका छन् ।

निर्वाचन आयोगले प्रदेश १ का एमालेबाट नेकपा (एस) रोजेका सांसदहरूको सनाखत प्रमाणित गरी भदौ २५ मा निर्णय बमोमिज प्रदेशसभामा पत्राचार गरेको थियो । आयोगको निर्णय बमोजिम भदौ २५ लाई प्रदेश १ मा एमाले फुटेको मितिका रुपमा कायम गरी त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने व्याख्या गरिएको छ । त्यो ३० दिन भोलि असोज २३ गते शनिबार पुग्ने छ ।

आफुहरू विश्वासको मत लिने प्रक्रियामा रहेको भन्दै सरकार पक्ष भने दसैँपछि मात्रै विपक्षी फेस गर्ने मुडमा रहेको छ । मुख्यमन्त्री आचार्यले भने विश्वासको मत लिने भन्दैमा थपक्कै कसैलाई सत्ता जिम्मा नलगाउने भन्दै विपक्षीको सत्तारोहणको आकांक्षालाई तत्कालै पुरा हुन नदिने संकेत गरेका थिए ।

५० सांसदको साथ रहेको दाबी गर्दै आएको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लिम्बुवान सम्बद्ध पाँच दलिय विपक्षी गठबन्धनले सरकार पूर्ण रुपमा अल्पमतमा रहेकोले संसद्‌ अधिवेशन अगावै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

उनीहरूले यसअघि मुख्यमन्त्री आचार्यलाई दबाब दिन अविश्वास प्रस्ताव ल्याउने चेतावनीसमेत दिएका थिए । तर मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक व्यवस्थाका कारण उनीहरूले त्यसबाट पछि हटेका थिए ।

शुक्रबार प्रदेशसभाको नयाँ सभाहलमा हिउँदे अधिवेशनको पहिलो बैठक बस्‍ने संसद्‌ सचिवालयले तयारी अघि बढाएको छ । बैठकका लागि सभाहलभित्र सबै तयारी पुरा भइसकेको प्रदेश १ का प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।


Author

थप समाचार
x