कोशी

ओलीका कारण देशको परिवर्तन धरापमा पर्‍यो : पूर्वमन्त्री कार्की

इकागज |
कात्तिक १७, २०७८ बुधबार ७:१७ बजे

उदयपुर- नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री प्रदेश १ का इन्चार्ज राम कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको औंल्याए । 

संगठन विस्तार तथा सुदृढीकरण र प्रशिक्षणका क्रममा उदयपुरको बेलका नगरपालिकास्थित रामपुरमा आयोजित कार्यक्रमलाई प्रशिक्षण दिँदै कार्कीले यस्तो खतरा औंल्याएका हुन् ।


कम्युनिस्टहरूले स्थापनाकालदेखि जसका लागि लड्दै आए, माओवादीको १० वर्षे जनयुद्धले आधारभूमि तयार गरेपछिको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थालाई एमाले अध्यक्ष रहेका ओलीबाटै गम्भीर खतरा रहेको उनले बताए ।

ओलीसँगै पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबाट परिवर्तनका उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उनले यसको रक्षाका लागि अब सबै परिवर्तनकामी शक्तिहरूलाई माओवादीले संगठित गरेर अघि बढ्न जोड दिए ।

परिवर्तनका मुद्दा माओवादीले स्थापित गरे पनि संस्थागत हुन बाँकी रहेकै बेला ओली, ज्ञानेन्द्र र कमल थापाबाट लगातार आक्रमण भइरहेको भन्दै कार्कीले यसको रक्षा गर्ने मुख्य दायित्व माओवादीकै भएको बताए । 'माओवादीले १० वर्षे जनयुद्धबाट धेरै परिवर्तन ल्याएको छ । त्यसमध्ये मुख्य संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था हुन्', कार्कीले भने ‘अहिले यी उपलब्धिमाथि ओली, ज्ञानेन्द्र र कमलहरूबाट गम्भीर धावा बोल्ने काम भइरहेको छ । त्यसको रक्षा गर्न तपाईं हामी सबै लागी पर्नुपर्छ, परिवर्तनगामी अन्य शक्तिहरूले पनि साथ दिनुपर्छ ।'

एमालेसँग एकीकरणले गर्दा पनि परिवर्तन खतरामा परेको उनको भनाइ छ । एकीकरणका कारण बलिदानपछि आएको परिवर्तनको संस्थागत गर्ने जिम्मा ओलीको हातमा पुगेपछि अहिले खतरा आउनु स्वाभाविक भएको उनको दाबी छ । 

प्रचण्डको छिटो विश्वास गर्ने लचिलो स्वभावले गर्दा उनीमाथि आफ्नै पार्टीका साथीहरूले धोका दिँदै आएको पनि उनले बताए । ‘पहिले ठूलठूला भाग खोज्छन्, नपाएपछि पार्टी छाडेर जान्छन् । उता पनि केही नपाएपछि फर्केर रोइकराई गर्छन्,’ एमाले छिरेका बादल, भट्ट, रायमाझी र साह प्रति इंगित गर्दै उनले भने, ‘हो त भनेर ठाउँ दिन्छन् । केही समयपछि मादल बजाउन थालेपछि बल्ल थाहा पाउँछन् ।'

पार्टीभित्र पुँजीवादी विचलन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कार्कीले संसदीय व्यवस्था भएकाले कतिपय कुरा ढाँटेर पनि गर्नुपर्ने बाध्यता आइपरेको सुनाए । प्रशिक्षणको क्रममा फरक प्रशंगमा नेता कार्कीले कम्युनिस्टहरू नदेखिने कुरामा आस्था गर्ने नभएर व्यवहारिक कुरामा विश्वास गर्ने आचरणको हुनु पर्ने बताए ।

एमाले यथास्थितिबादी पार्टी भएको भन्दै उनले पार्टी फुटे पनि सूर्य चिन्ह छाड्न नसकेर धेरै नेता कार्यकर्ता त्यही बसेको बताए । ‘सूर्य चिन्ह छाड्न सक्दिन भन्नु र जनाई छाड्न सक्दिन भन्नु उस्तै हो, अनि कसरी एमाले परिवर्तनकारी हुनसक्छ ?,’ उनले भने ।  जनता परिवर्तनको पक्षधर भएकैले जंगल छाडेर आएलगत्तै चुनाव जिताएको उनले बताए ।

माओवादीले अघि सारेको संघीयता, गणतन्त्र र समावेशिताको नारालाई संस्थागत गर्नेतर्फ ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिँदै उनले गणतन्त्र भाषण र कुरा गराइमा मात्र सीमित नभएर व्यवहारमा लागू गर्न कार्यकर्तालाई निर्देशन दिए ।


Author

थप समाचार
x