कोशी

समयमा आउँदैन पीसीआर रिपोर्ट

लीलावल्लभ घिमिरे |
कात्तिक ३, २०७७ सोमबार १६:५३ बजे

विराटनगर : ‘हामी विराटनगरवासीहरुको समेत योगदानमा २४ घन्टामै पीसीआर  रिपोर्ट आउँछ भनेर मेसिनसमेत किनेर दिइयो तर ६ दिनमा पनि रिपोर्ट आउँदैन त ? हामीलगायत पदवालाको छिटो दिने सर्वसाधारणको निको भएपछि कि मरेपछि आउँछ सरकार ?’ 

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सार्वजनिक सञ्जालमा स्थानीय र प्रदेश सरकारलाई यस्तो प्रश्न गरेका हुन् । पछिल्लो समय प्रदेश १ मा पीसीआर रिपोर्टको नतिजा थाहा पाउन पाँच दिन कुर्नुपर्छ ।


सयौंको संख्यामा प्रदेशमा दैनिक संक्रमितको संख्या बढिरहेका बेला लक्षण देखिएका, कन्ट््याक ट्रेसीङमा परेका र जाँच गराउन चाहनेहरुले पाँच दिनअघि कुनै पनि सरकारी ल्यावको रिपोर्ट पाएका छैनन् । 

रिपोर्ट धेरै ढिलो आउँदा जाँच गराउनेहरु तनावमा पर्ने गरेका छन् भने संक्रमणको खोजीमा पनि उतिकै खतरा छ । सुरुका दिनमा परीक्षण रिपोर्ट ढिलो भएको भन्दै महानगरको अगुवाईमा उद्योगी व्यवसायीहरुले ६५ लाख भन्दा बढी चन्दा संकलन गरी स्वायव मेसीन खरिद गरेका थिए । 

पीसीआर परिक्षणमा समेत सरकारले सर्वसाधारणलाई भेदभाव गरेको आरोप प्रमुख सचेतक कार्कीले वताए । ‘ठूलाबडा र जनप्रतिनिधिहरुको रिपोर्ट भरसक आजै नत्र भोलिपल्ट दिने तर सर्वसाधारणले चाहिं पाँच दिन कुर्नुपर्छ,’ कार्कीले भने, ‘पीसीआरको रिपोर्ट समयमा दिन नसक्ने सरकारले उपचार गर्छ भन्ने भ्रममा नबस्दा राम्रो ।’ 

प्रदेश १ मा ८ वटा प्रयोगशालामा कोभिड–१९ परीक्षण हुन्छ । तर स्वाब परीक्षणको नतिजा आउन भने सर्वसाधारणले घटीमा पाँच दिन कुर्नुपर्छ । समयमा परीक्षणको रिपोर्ट नआउँदा सम्बन्धित र उनको परिवारले व्यहोर्नुपर्ने तनाव त छँदैछ, संक्रमण अरुमा सर्ने खतरा पनि उत्तिकै हुन्छ । 

परीक्षणमा ढिलाई भएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अगुवाईमा विराटनगरका नागरिक समाजको तर्फबाट दुई थान पीसीआर मेसिन खरिद गरेर 
कोसी अस्पताललाई हस्तान्तरण गरिएको थियो । 

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीको अग्रसरतामा उद्योगी व्यवसायीले ६५ लाख रुपैयाँ रकम जम्मा गरेर २ वटा पीसीआर परीक्षण गर्ने मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरेका थिए । तीमध्ये स्वचालित मेसिन भने महानगरबाट नै किट प्राप्त भएमात्र सञ्चालन हुने अवस्था रहेको अस्पतालले जनाएको छ ।

महानगरले हस्तान्तरण गरेको म्यानुअल मेसिन सञ्चालनमा रहेको भए पनि स्वचालित  आरएनए एक्स्ट्राक्सन मेसिन बन्द छ । कोशीको आफ्नै मेसिन र महानगरले दिएको अर्को गरी दुई थान मेसिन अहिले पनि सञ्चालनमा छ । महानगरपालिकाले दिएको स्वचालित  मेसिन सञ्चालन खर्च धान्न नसकेकै कारण बन्द गर्नुपरेको अस्पतालका मेसु दासले बताए । 

पछिल्ला दिनमा प्रदेश १ मा दैनिक ४ को हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन् । प्रदेश प्रयोगशाला, कोशी अस्पताल विराटनगर, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्यूरो अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालले निययमित रुपमा पीसीआर परीक्षण गर्ने गरेका छन् । खासरी सरकारी प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट आउन धेरै दिन लाग्ने गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले केही दिनअघि किट अभाव भए पनि अहिले कतै समस्या समाधान भएको दाबी गरे । संक्रमण दर उच्च भएसम्म विद्यमान साधनस्रोत परिचालन गरेर तत्कालै रिपोर्ट दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x