कोशी

मोरङको सुन्दरहरैंचा नगरपालिकाले तोक्यो देउसीभैलोको दक्षिणा दर

इकागज |
कात्तिक १८, २०७८ बिहीबार २०:१६ बजे

विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिकाले तिहारमा खेलिने देउसीभैलोमा नगर क्षेत्रभित्र दक्षिणाको दररेट तोकेको छ । नगरपालिकाले १५ वर्ष उमेरसम्मका बालबालिकाहरूले देउसीभैलो खेल्दा बढीमा एक सय रुपैयाँ र संस्थागत समूहहरूलाई सबैभन्दा बढी २ हजार १ सय रुपैयाँ दक्षिणा तोकेको हो ।

नगरबासीहरूमा गरिएको अनुरोध पत्रमा १५ वर्षमाथिकालाई देउसीभैलो खेलेमा बढीमा ५ सय रुपैयाँ र क्लव तथा नाचगान गर्ने समूहलाई बढीमा १ हजार १ सय रुपैयाँ दक्षिणा तोकेको छ । देउसीभैलोको मौका छोपेर नगर क्षेत्रभित्र अवान्छित गतिविधि हुनसक्ने भएकोले बेलुका १० बजेसम्म मात्रै देउसीभैलो खेल्न आग्रह गरेको नगरपालिकाका अधिकृत जीवन कुमार चापागाँईले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।


देउसीभैलो खेल्दा आफ्नो परम्परा र संस्कृतिभन्दा फरक खालका गीत संगीत प्रयोग नगर्न भनिएको छ । नगरपालिकाले सूचनाविपरीत कार्यहरू गरे गराएमा स्थानीय प्रहरी प्रशासनको सहयोगमा कडा कारबाही गर्नेसमेत चेतावनी दिएको हो ।

दियो, मैनवत्ती, पाला र विद्युतीय बत्तीहरु बाल्ने क्रममा आगलागी सम्बन्धी सजगता अपनाउन पनि नगरबासीहरूलाई आग्रह गरेको छ । त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्वलनशिल पदार्थ नपड्काउन पनि आग्रह गरिएको छ ।

 


Author

थप समाचार
x