कोशी

एमाले ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव

इकागज |
कात्तिक २४, २०७८ बुधबार १०:२१ बजे

ओखलढुंगा- नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ । दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए । 

सचिवालय बैठकबाटै नेताहरूले गुटका मान्छे प्रतिनिधि लैजान खोजेपछि निर्वाचनमा जान सदस्यहरूले जोड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएको बताए । 


एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतको एक समूह र यज्ञराज सुनुवार, किशोर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतको अर्को समूह बनेको छ । यी दुई समूहबीच प्रतिनिधि को पठाउने भन्‍ने सहमति नहुँदा चुनाव हुने देखिएको हो । 

माओवादीबाट आएका बालकृष्ण ढुंगेलको समूह अम्बीर गुरुङसँग जोडिएपछि साविक ओली गुट दुई समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए । 

साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ-ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज-किशोर समूह नजिक रहेको बताइएको छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटको विषयमा अध्यक्ष श्रेष्ठको भनाभनकै तहमा विवाद भएको एक नेताले जानकारी दिए । 

पालिका अधिवेशनबाटै गुट उपगुटको सिकार बनेको एमाले प्रतिनिधि छनोटमा दुई समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आ-आफ्नो समूहको गृहकार्यमा नेताहरू जुटेका छन् । पालिका तहमा निर्वाचन हुने र त्यसको तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएको नेता सीताराम गुरुङले बताए । मनोनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्‍ने उनको भनाइ छ । 

जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेको छैन । एमालेको १०औं महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।


Author

थप समाचार
x