कोशी

राष्ट्रिय सभा निर्वाचन- प्रदेश १ मा सत्ता गठबन्धन र एमालेबाट यी बने उम्मेदवार

बाबुराम भण्डारी |
पुस २०, २०७८ मगलवार १३:३ बजे

विराटनगर - प्रदेश १ मा सत्ता गठबन्धनले पनि राष्ट्रिय सभाका तीन उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बेलुकासम्म अल्पसंख्यकरअपांग तर्फको सदस्य माओवादी केन्द्रको कोटामा रहेको भनिएपछि गठबन्धनबाट उक्त कोटा जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको हो ।

जसपाले अल्पसंख्यकरअपांगतर्फ पार्टीका केन्द्रीय सदस्य रहेका भोजपुरका हेमराज राई थुलुङलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले बताए । 


गठबन्धनमा कांग्रेसको भागमा परेको अन्य तर्फ झापाका गोपाल बस्नेतलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) को भागमा परेको महिला कोटातर्फ खोटाङकी जयन्ती राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभाका सदस्यका लागि उम्मेदवारी दर्ताको समय आज १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ । माघ १२ गते राष्ट्रियसभा सदस्यको बाँकी दुई बर्षे अवधिका लागि निर्वाचन हुँदैछ । 

प्रदेश १ मा नेकपा एमालेले भने सोमबार बेलुकै उम्मेदवार टुंगो लगाएको हो । एमालेले अन्यतर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यकरअपांगतर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । 

अन्यतर्फ एमालेले देवराज घिमिरेलाई उम्मेवार बनाउने निर्णय गरेको थियो । तर घिमिरेको नाम समानुपातिक तर्फको बन्दसूचीमा रहेको पाइएपछि बराललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय भएको एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रदेश १ मा अन्य, महिला र अल्पसंख्यकरअपांगतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरु नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिंदैछ ।

 रिक्त हुने स्थानमा उपनिर्वाचनको प्रक्रियाबाट सदस्यको चयन हुन लागेको हो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x