कोशी

विराटनगरमा होटल बने आइसोलेसन

लीलावल्लभ घिमिरे |
कात्तिक १९, २०७७ बुधवार १६:४८ बजे

विराटनगर : पछिल्लो समय विराटनगरका होटल व्यवसायी पुण्य भट्टराईको दैनिकी परिवर्तन भएको छ । कुन कोठामा कति बेला अक्सिजन चाहिने हो ? कसैको ज्वरो बढी आइरहेको छ कि ? कुन कोठाबाट खोकीको आवाज बढी आउँछ  उनका कान जति बेला पनि चनाखो भइरहन्छन् । 

विराटनगर विमानस्थल नजिकै होटल एशियाटीक नामको होटल सञ्चालन गरेका युवा व्यवसायी भट्टराईले चैतमा सुरु भएको लकडाउनको पहिलो पाँच महिना पूरै होटल बन्द गरे । लकडाउन खुलेसँगै कोरोनाका बिरामी एकपछि अर्को गर्दै थपिन थाले । केही महिनामा नै तीन तहका सरकारहरुको पहुँचभन्दा बाहिर गयो कोरोना संक्रमितको उपचार । कोभिड–अस्पतालहरुका बेड भरिए । 


क्वारेन्टाइन धमाधम आइसोलेसनमा परिणत भए । तैपनि संयौको संख्यामा विराटनगर बजार क्षेत्रका संक्रमितहरु नै असुरक्षित तरिकारले घरमै बस्न थाले । यही बेला युवा व्यवसायी भट्टराईले आफ्नो होटललाई आइसोलेसन सेन्टरका रुपमा बदले । पाँच महिनासम्म बन्द रहेको होटल खुल्यो । पहिलोपटक ६० वेडको आइसोलेसन सेन्टर तयार भयो । संक्रमितहरु धमाधम आउन थाले । 

अहिलेसम्म यो होटलमा कोरोनाका एक सय ९२ जना संक्रमित बसिसकेका छन् । एक सय ६८ जना निको भएर घर फर्केका छन् । तीन दिनअघि मात्र होटलले ४० वेड थप गरेर १ सय वेडको आइसोलेसन बनाएको छ । 

नेपालमा नै पहिलो पटकहोटल एशियाटीक आइसोलेसन सेन्टर बन्यो । त्यसपछि काठमाडौं र पोखराका होटलहरु पनि आइसोलेसन बन्न थालेका हुन् । ‘कोरोनाले सबैतिर आतंकित बनाएको थियो । उपचार हैन संक्रमितहरुलाई बस्ने ठाउँको समेत अभाव भइरहेका बेला सेवाको भावनाले होटललाई आइसोलेसन बनाएको हुँ’ भट्टराईले भने, ‘जोखिम मोलेर भए पनि यस्तो अवस्थामा सेवा दिन पाउँदाको आनन्द नै अर्कै हुदो रहेछ ।’ 

प्रदेश सरकारले होटलमा २ जना स्वास्थ्यकर्मी खटाएको छ । अक्सिजनको व्यवस्था होटलमा नै छ । कसैलाई गाह्रो भयो भने होटलले नै कोभिडि अस्पताल पुर्‍याइदिन्छ । सामान्य रुपमा कोरोनामा प्रयोग हुने औषधि होटलले निःशुल्क दिएको छ । होटलमा बस्ने संक्रमितले सिङगल रुपमा बस्ने हो भने दिनको ४ हजार रुपैयाँ तिर्नुपर्छ ।

कमनमा वस्ने हो भने २ हजार ४ सय ५० रुपैयाँ लाग्छ । त्यसमा २ पटक खाना २ पटक ब्रेकफाष्टका साथै सबै रुममा बेसार पानी उमालेर खानेदेखि वाफ लगाउनेसम्म सुविधा दिएको छ । प्रदेश १ मा ३५ वटा संस्थागत आइसोलेसन सेन्टर रहेका छन् । मंगलबार सम्म होम आइसोलेसनमा ७ हजार ८ सय ३५ जना रहेका छन् ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x