यसरी मनाइन्छ तराईमा होली
पहाड र तराईमा किन फरक दिन मनाइन्छ ?
जनकपुरधाम : सामाजिक सद्भावको प्रतिक हिन्दू धर्मालम्बीहरूको महान् पर्व होली निकै धूमधामका साथ तराई मधेश सहित देशभरि मनाइँदैछ । हिजो आइतबार देशका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाइएको छ भने जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरूमा सोमवार बिहानैदेखि निकै उत्साहका साथ एकअर्कालाई रंग अबिर दलेर मनाइँदैछ ।
सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको यो पर्व तराई मधेशमा रंग अबिर दलेर मनाउनुका साथै विभिन्न लोकगीत र मिष्ठान परिकार खाएर मनाउने चलन छ ।
पहाडी भेग र तराई मधेशमा फरक फरक ढंगले होली पर्व मनाइने गरिन्छ । तराई मधेशमा मधेशी तथा थारु समुदायले रंग अबिर एकअर्का दलेर, लोकगीत होरैया र जोगिरा गीत गाएर मनाउने गर्छन । बढदै गएको आधुनिकताले होरैया र जोगिरा लोप हुँदै गए पनि ग्रामीण क्षेत्रमा अहिले पनि यथावत नै छ ।
होरैया तथा जोगिरा लोकगीत गाउनेहरू एक ठाउँमा बसेर गाउन नगरी शरीरमा रंग अबिर दलिएको अवस्थामा युवाहरूको समूह डम्फा, ढोल र झाल लगायतका बाजा सहित गाउँभरि नाच्दै गाउने गर्छन । तराई मधेशमा होलीको खास महत्व भाउजु, देवर, ननद, भिनाजु सालीको लागि महत्वपूर्ण हुन्छ ।
'देवर, ननदले भाउजुलाई भाउजुले देवर ननदलाई र भिनाजुले सालीलाई तथा सालीले भिनाजुलाई रंग लगाउँदै हंसी ठट्टा गर्दै तराई मधेशमा मनाउने प्रमुख चलन छ । तिनीहरूले एकअर्काको शरीरभरि बाहिर र भित्र रंग दल्ने गर्छन तर हाल अहिले यो परम्परा हराउँदै गएको छ' साहित्यकार डा. राजेन्द्र विमलले भने ।
होली पर्वमा आपसी द्वेष बिर्सेर सबैले एकअर्कालाई रंग दल्ने, मिल्ने साथी इष्टमित्र र छिमकीलाई घरमा बोलाएर मालपुवा, खजुरी, पुरी लगायतका मिठा परिकार र माछा मासु लगायतका परिकार घरमा निम्तो दिई खुवाउने र खाने प्रचलनले गर्दा यसलाई सामाजिक सद्भावको पर्व भन्न गएको कुरा राजनीतिक विशलेषक डा. सुरेन्द्र लाभ भन्छन् ।
नेपालको तराई क्षेत्र भारतसँगको सीमा क्षेत्रमा परेको हुँदा भारततिरको परम्पारिक रिति एवं सांस्कृतिकको ठुलो प्रभाव यस क्षेत्रका समुदाययमा परेको देखिन्छ । सोही रिती र परम्परा अनुसार तराई मधेशका जिल्लाहरूमा होली मनाइने गरिन्छ । तर हाल होलीको नाममा विकृति पनि बढदै गएको ।
उत्साह र मनोरञ्जनको पर्व समेत भनिएको होलीको अवसरमा मदिरा र भांग सेवन गर्ने, नशामा मातिएर होली खेल्ने क्रममा झै झगडा, बाटो हिँडिरहेका महिलालाई बलजफ्ती रंग दल्नेलगायतका विकृति समेत बढदै गएको छ । जसलाई नियन्त्रण गर्न निकै जरुरी देखिन्छ लाभ बताउँछन् ।
होली पर्वमा होलीका दहनको प्रमुख उत्सव हो । होलीको पुर्व सन्ध्यामा जुन पहाडमा होली हुन्छ त्यो दिन तराई मधेशमा होलीका दहन गर्ने परम्परा रहेको छ । असत्यमाथि सत्यको विजय स्वरुप तराई मधेशमा होलीका दहन गरिदै आएको छ ।
पुर्वकालमा हिरण्कश्यप नाम गरेका एक शक्तिशाली नास्तिक राजाले एक आफ्नो अटेरी गरेको मानी दन्ड दिन आगोमा जिउँदै बालेर मार्न खोज्दा संगै बसेको राजाको बहिनी होलीका आगोमा बलि भस्म भईन भन्ने छोरा पहलाद चाँहि भगवान विष्णुप्रतिको भक्तिको शक्तिले बांच्छन ।
पहाड र तराईमा फरक दिन किन ?
देशका पहाड र तराई मधेशमा फरक फरक दिनमा होली पर्व मनाइने गरिन्छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलीका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलीका दहन गरे पनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ ।
डा. विमलका अनुसार पहाड र तराईमा २ दिन होली मनाउनुको विशेष महत्व रहेको छ । उनी भन्छन् 'धार्मिक ग्रन्थ अनुसार फागु पूर्णिमाका दिन होली पर्व मनाइने हो । तर तराई मधेशमा असत्यमाथि सत्यको विजयको रुपमा गरिने होलीका दहनको भोलिपल्ट प्रतिपदाका दिन त्यसको खुशियाली मनाइने गरिन्छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया