मधेश

स्थानीय तह मत परिणाम :

मधेशमा कांग्रेस-एमालेलाई नाफा, माओवादी-लोसपालाई घाटा, जसपा साउँको ताउँ

सुभाष कर्ण |
जेठ ११, २०७९ बुधबार १२:१५ बजे

जनकपुरधाम- सबैभन्दा धेरै पालिका रहेको मध्ये मधेश प्रदेश दोस्रो नम्बरमा छ । मधेशवादी दलको वर्चश्व रहेको मदेश प्रदेशमा मधेश आन्दोलनपछि मधेशमा वर्चस्व बनाएका मधेशवादी दलले यसपालिको स्थानीय तह निर्वाचनमा साख जोगाउन सकेन ।

२०७४ सालको निर्वाचनमा प्रदेशमा पहिलो दलको रूपमा स्थापित भएका नेपाली कांग्रेस यस पटक पनि आफ्ना वर्चस्व कायम राख्दै अझ बढी पालिका जितेर पहिलो दल बनेको छ । प्रदेशका १३६ पालिकामध्ये गत निर्वाचनमा ४० पालिका प्रमुख जितेको कांग्रेसले यसपटक ४६ सिट जितेको छ । दोश्रो स्थानमा रहेका मधेशवादी दल तत्कालिन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टी आफ्नो स्थान सुरक्षित राख्न बल्लतल्ल सफल भएको छ । ०७४ सालमा २६ सिट जितेको (जसपा)ले २६ सिटलाई कायम राखेको छ ।


तर गत निर्वाचनमा तेश्रो स्थानमा रहेका मधेशवादी दल तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल हालको लोकतान्त्रिक पार्टी (लोसपा) ले आफ्ना साख जोगाउन सकेको छैन । गत निर्वाचनमा २५ पालिका जितेका लोसपाले यसपटक १४ पालिका प्रमुख मात्रै जितेको छ । तेश्रो स्थानमा रहेका लोसपा पछिल्लो निर्वाचनमा ११ सिट गुमाउँदै चौथो स्थानमा झरेको छ ।

गत निर्वाचनमा प्रदेशमा पाँचौ दल रहेको एमाले यसपालि फड्को मार्दै दोश्रो स्थान ल्याउन सफल भएको छ । एमालेले २९ पालिका प्रमुख जितेको छ । तर चौथो स्थानमा रहेका माओवादी केन्द्र एक स्थान तल झर्दै पाँचौमा पुगेको छ । यो पटक माओवादीले ९ पालिका प्रमुख मात्रै जितेको छ । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीले पहिलो पटकमै ६ पालिका जितेको छ । नेकपा एसले छैठौ स्थानमा छ भने डा. सिके राउत नेतृत्वको जनमत पार्टीले २, लोसपाबाट फुटेर बनेका तमलोपा र विवेकशील साझा पार्टीले १/१ पालिका जितेको छ ।

निर्वाचन बागी स्वतन्त्र उम्मेदवारका लागि पनि भाग्यशाली साबित भएको छ । कांग्रेसबाट टिकट नपाउँदा बागी बनेर स्वतन्त्रमा उम्मेदवारी दुई जनाले प्रदेशका एक उपमहानगरपालिका र एक नगरपालिकामा अत्यधिक मतले जित निकालेका छन् ।

प्रदेशका राजधानीसमेत रहेका जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह र महोत्तरीको बर्दिबास नगरपालिकामा प्रह्लाद क्षेत्रीले बागी उम्मेदवारी दिएर जितेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x