मधेश

जीतपुरसिमराका मेयर पौडेल कर्मचारीसहित माओवादी नेता भेट्न काठमाडौँ गएपछि काम प्रभावित

इकागज |
जेठ १२, २०७९ २१:५३ बजे

बारा - जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौँ लागेपछि कार्यालयको काम प्रभावित बनेको छ ।

मेयर पौडेलले काठमाडौँमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो । 


जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको नमुना पठाउन भनेर नगरपालिका कार्यालय पुगेका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारी कार्यालयमा कर्मचारीहरू नभेटेपछि निराश हुँदै फर्कन बाध्य भएका छन् । 

हस्ताक्षरको नमुना नगरपालिका मार्फत सिडियो कार्यालयमा पठाएपछि मात्रै नवनिर्वाचित वडा अध्यक्षहरूले कार्यालयको कागजपत्रमा हस्ताक्षर गर्न पाउने भएकोले वडा सचिवसहित नगरपालिका गएको तर कर्मचारी नभेटेपछि हस्ताक्षर प्रमाणीकरणको काम गर्न नपाएर जनताको सिफारिसमा असहज भएको उनले बताए । 

जनताको कामलाई बेवास्ता गर्दै मेयर पौडेल आफ्नो पार्टीका नेता भेट्न कर्मचारी नै लिएर गएपछि वडा अध्यक्षहरूले मेयरले जनताको कामलाई भन्दा पार्टी व्यक्तिगत कामलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् । 
 



Author

थप समाचार
ad
x