मधेश

दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ : निधि

इकागज |
जेठ १३, २०७९ शुक्रवार ६:१५ बजे

जनकपुर- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुट्न सबैसँग आग्रह गरेका छन् । 

जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित पदाधकारीको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै पूर्वउपसभापति निधिले नगरको विकासमा सबैले आफ्नो दलीय आस्थाभन्दा माथि उठेर सहमति, सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।


दलीय पूर्वाग्रह नराखी सबैलाई समेटेर नगरको समग्र विकास गर्ने ठोस योजनाका साथ अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्दै नले त्यसमा आफ्नो तर्फबाट हुनसक्ने पहल र प्रयत्न गरिरहने प्रतिबद्धता व्यक्तसमेत गरे । जनकपुरधाममा सडक, रेल र विमान सेवाको पूर्वाधार तयार भइसकेकाले यसको विकास र विस्तारमा ध्यान दिन नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्दै उनले यसका लागि दीर्घकालीन, अल्पकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । 

जनकपुरधामलाई भारतको कोलकातासँग जोड्न सकिए जनकपुरधामको धार्मिक, सांस्कृतिक, व्यावसायिक र पर्यटनलगायतका क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका निधिले अयोध्याबाट जनकपुरधामसम्म निजी कम्पनीले सिधै विमान उडान गर्ने तयारी गरिरहेको जानकारीसमेत दिए । 

उनले जनकपुरबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन भइसकेको र जनकपुरधामदेखि अयोध्यासम्मको सडकलाई चार लेनमा स्तरोन्नतिको कामसमेत अघि बढीसकेकाले जनकपुरधामको धार्मिक, सांस्कृतिक विकासले थप गति लिने विश्वास व्यक्त गरे । 

मुलुकको धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटन विकासका लागि हिमाल, पहाड र तराई–मधेसलाई सडक सञ्जालमा जोड्नुपर्नेमा जोड दिँदै उनले जनकपुरधामभित्र रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका योजना बनाउन सुझावसमेत दिए । रासस


Author

थप समाचार
x