मधेश

मधेश प्रदेश : जिल्लागत रूपमा दलहरूले कहाँ कति पालिका जिते ?

सुभाष कर्ण |
जेठ १४, २०७९ शनिवार २१:३५ बजे

जनकपुरधाम – मधेश प्रदेशमा कांग्रेसले पहिलो दलको वरियता कायम राख्न सफल भएको छ भने एमालेले फड्को मार्दै दोश्रो ठूलो दल बन्न सफल भएको छ ।

प्रदेशका १३६ पालिका मध्ये गत निर्वाचनमा ४० सिट जितेको कांग्रेसले यसपटक ४६ सिट जितेकाे छ, भने एमालेले ३० सिट जित्दै दोश्रो ठूलो दल बन्न सफल भएको हाे।


गत ०७४ को निर्वाचनमा २६ सिट जितेर दोश्रो स्थानमा रहेका मधेशवादी दल तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टी (जसपा) ले २६ सिटमा मात्र जित हासिल गरेकाे छ ।

तर गत निर्वाचनमा तेश्रो स्थानमा रहेका मधेशवादी दल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल हालको लोकतान्त्रिक पार्टी (लोसपा) ले आफ्नो साख जोगाउन सकेको छैन । गत निर्वाचनमा २५ पालिका जितेको​ लोसपाले यसपटक मात्र १४ सिटमा खुम्चिएकाे छ ।

मधेश प्रदेशमा दलहरूले जितेको पालिका यस प्रकार रहेको छ 

धनुषा : धनुषाको १८ स्थानीय तह मध्ये नेपाली कांग्रेस १०, जसपा र एमालेले ३/३, माओवादी र स्वतन्त्रले एक/एक वटा पालिकामा जित निकालेका छन् ।  ।

कांग्रेसले लक्ष्मिनिया गाउँपालिका, धनौजी गाउँपालिका, बटेश्वर गाउँपालिका, कमला नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र मिथिलाबिहारी नगरपलिकाको प्रमुख पदमा जित निकालेको छ ।

त्यस्तै एमालेले औरही गाउँपालिका, विदेह नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका सहित ३ पालिकाको प्रमुख पद जितेको छ भने जसपाले जनकनन्दनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र शहीदनगर नगरपालिकासहित ३ पालिकामा जित निकालेको छ ।

लोसपा र नेकपा एसले धनुषामा एक पालिका पनि जित्न सकेको छैन भने माओवादी केन्द्रले सबैला नगरपालिका मात्र र कांग्रेसका बागी उम्मेदवार मनोज साहले प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा जित निकालेका छन् ।

महोत्तरी : महोत्तरी जिल्लामा कुल १५ स्थानीय तहमध्ये जसपा र लोसपाले ५/५, कांग्रेसले २ र एमाले, तमलोपा र स्वतन्त्रले १/१ पालिकामा जित हात पारेका छन्।

महोत्तरीमा लोसपाले औरही नगरपालिका, बलवा नगरपालिका, भंगहा नगरपालिका, मटिहानी नगरपालिका र सोनमा गाउँपालिकामा जितेको छ भने जसपाले एकडारा गाउँपालिका, सम्सी गाउँपालिका, पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र गौशाला नगरपालिकाको प्रमुख पदमा जितेको छ ।

कांग्रेसले मनरासिस्वा नगरपालिका, लोहारपट्टी नगरपालिका, तमलोपाले महोत्तरी गाउँपालिकामा जितेको छ भने बर्दिबास नगरपालिका यस पटक स्वतन्त्र उम्मेदवार कांग्रेसका बागी प्रहलाद क्षेत्रीले जित निकालेका छन् ।

सर्लाही : सर्लाहीको २० पालिका मध्ये कांग्रेसले १२, माओवादी केन्द्रले ४, जसपाले २, एमाले र लोसपाले एक/एक पालिकाको प्रमुख पद जितेको छ ।

कांग्रेसले ईश्वरपुर नगरपालिका, मलंगवा नगरपालिका कविलासी नगरपालिका, लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका, हरिपुर्वा नगरपालिका, विष्णुपुर गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, चन्द्रनगर गाउँपालिका, धनकौल गाउँपालिका, पर्सा गाउँपालिका र कौडोना गाउँपालिकाको प्रमुख पद जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले बलरा नगरपालिका, बागमती नगरपालिका, हरिवन नगरपालिका, रामनगर गाउँपालिकामा जितेको छ भने एमालेले बरहथवा नगरपालिका, जसपाले चक्रघटा गाउँपालिका, बसबरिया गाउँपालिका र लोसपाले गोडैता गाउँपालिकामा जितेको छ ।

रौतहट : रौतहट जिल्लाको १८ पालिका मध्ये कांग्रेसले सबैभन्दा बढी ७, नेकपा एसले ४, एमाले ३, लोसपाले २, माओवादी र जसपाले १/१ पालिकामा जितेको छ ।

कांग्रेसले जिल्लाको राजपुर नगरपालिका, कटहरिया नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका गढीमाई नगरपालिका र माधवनारायण नगरपालिकामा जितेको छ भने नेकपा एसले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका, राजदेवी नगरपालिकामा जितेको छ ।

त्यस्तै लोसपाले ईशनाथ नगरपालिका, राजदेवी नगरपालिका, एमालेले गरुडा नगरपालिका, देवाही गोनाही नगपालिका, मौलापुर नगरपालिका, जसपाले गुजरा नगरपालिकाको प्रमुख पदमा जितेको छ ।

बारा : बारा जिल्लाको १६ पालिका मध्ये एमालेले ५, कांग्रेस ४, जसपाले ३, लोसपाले २, माओवादी र विवेकशील साझा पार्टीले १/१ वटा पालिकामा जितेको छ ।

निर्वाचन आयोगद्वारा सार्वजनिक तथ्यांक अनुसार एमालेले कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, पचरौता नगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिकाको प्रमुख पदमा जितेको छ भने कांग्रेसले आदर्श कोतवाल गाउँपालिका, कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिकामा जितेको छ ।

त्यस्तै जसपाले करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, बारागढी गाउँपालिका, लोसपाले सिम्रौनगढ नगरपालिका, विश्रामपुर गाउँपालिका, माओवादीले जीतपुरसिमरा उमहानगरपालिका र विवेकशील साझा पार्टीले फेटा गाउँपालिकाको प्रमुख पदमा जितेको छ ।

पर्सा : पर्सा जिल्लाको १४ पालिका मध्ये एमालेले ५, कांग्रेस र जसपाले ४/४, लोसपाले एक पालिका जितेको छ । आयोगको सार्वजनिक तथ्यांक अनुसार एमालेले छिपहरमाई गाउँपालिका, ठोडी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका र सखुवा प्रसौनाी गाउँपालिकामा जितेको छ ।

त्यस्तै जसपाले वीरगञ्ज महानगरपालिका सहित बहादुरमाई नगरपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, कांग्रेसले जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, पकहा मौनपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र लोसपाले विन्दवासिनी गाउँपालिकामा जित निकालेको छ ।

सप्तरी : सप्तरी जिल्लाको १८ पालिका मध्ये कांग्रेसले सबभन्दा बढी ५, सबभन्दा कम माओवादी र नेकपा एसले १/१, एमाले, लोसपा र जसपाले ३/३ पालिकामा जितेको छ भने डा. सिके राउत नेतृत्वको नवगठित पार्टी जनमतले समेत २ वटा पालिकामा जित निकालेको छ ।

आयोगको तथ्यांक अनुसार कांग्रेसले कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, सप्तकोशी नगरपालिका र सुरुङ्गा नगरपालिकामा जितेको छ भने माओवादीले खडक नगरपालिका र नेकपा एसले शम्भुनाथ नगरपालिकामा जित निकालेको छ ।

त्यस्तै जसपाले बोदे बरसाईन नगरपालिका, राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, लोसपाले छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, एमालेले अग्नीसाईर कृष्णसवरन गाउँपालिका, डाक्नेश्वर नगरपालिका, राजगढ गाउँपालिका र जनमतले हनुमाननगर गाउँपालिका, बलान बिहुल गाउँपालिकामा जितेको छ ।

सिरहा : सिरहा जिल्लाको १७ पालिका मध्ये सबैभन्दा बढी एमालेले ९ वटा पालिका जितेको छ भने जसपाले ४, कांग्रेस २, नेकपा एस र माओवादीले १/१ वटा पालिकामा जित निकालेको छ ।

जिल्लामा सबभन्दा बढी सिट जित्ने एमालेले कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढी नगरपालिका, सिरहा नगरपालिका, सुखीपुर नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका र भगवानपुर गाउँपालिकामा जित निकालेको छ ।

त्यस्तै जसपाले अर्नमा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, कांग्रेसले लक्ष्मीपुर पतारी गाउँपालिका, लहान नगरपालिका, नेकपा एसले सुखवानान्कारपट्टी गाउँपालिका र माओवादीले मिर्चैैया नगरपालिकाको प्रमुख पदमा जितेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x