सम्पर्कविहीन हुने सबै एकै टोलका : परिवारमा रुवाबासी, गाउँले त्रसित
जनकपुरधाम : महोत्तरीमा झा दम्पति बेपत्ता भएको घटना सेलाउन नपाउँदै पुनः ७ जना किशोरी र बालिकाहरु एकै साथ सम्पर्कविहीन भएका छन् । जिल्लाको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना बालिका र किशोरी घाँस काटन गएको अवस्थामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बेपत्ता हुनेहरूमा २० वर्षीया अस्मिता पासवान, १७ वर्षीया नगिना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जन पासवान र ११ वर्षीया अर्चना पासवान रहेका प्रहरीले जनाएको छ ।
भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले मंगलबार दिउँसो करिब १ बजे सँगै घाँस काट्न निस्केका ती किशोरी र बालिकाहरु राति १२ बजेसम्म घर नफर्केको जानकारी दिएका छन् । उनीहरू सबैजना एउटै टोलको रहेको मेयर साहले बताए ।
उनले सम्पर्कविहीन भएको घटना थाहा पाएलगतै प्रहरीसँग समन्वय गरि नगरपालिकाले खोजी गरिरहेको छ । सम्पर्कविहीन भएका किशोरी र बालिकाहरु घर नफर्किदा परिवारमा रुवाबासी सुरु भएको छ भने गाउँले त्रसित बनेका छन् ।
‘घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको धर्मपुरस्थित चौरमा उनीहरु घाँस काट्न गएका थिए,’ मेयर साहले भने, ‘उनीहरू सबैजना प्रायःजसो समूहमै घाँस काट्न चौरमा जान्थे र साँझसम्म आ-आफ्नो घर फर्किहाल्थे, तर मंगलबार अबेर रातिसम्म घर नफर्केपछि घटना सार्वजनिक भएको हो ।’
उता महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरुको खोजी गर्न प्रहरी टोली खटाइ सकिएको बताएका छन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँका करिब डेढसय युवाहरु मिलेर मध्यरातसम्म उनीहरुको खोजी चारैतर्फ गरेका थिए तर फेला पर्न सकेन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया