मधेश

विषय प्रवेश नै नगरी जीतपुरसिमराको नगर सभा स्थगित

इकागज |
असार ११, २०७९ शनिवार ७:३१ बजे

बारा - बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा शुक्रबार आयोजना गरिएको सभा विषय प्रवेश नगरी स्थगित भएको हो ।

कार्यपालिका बैठकमा निर्णय नै नगरी निति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन नसकेको हो । नगर सभामा प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाइ थियो ।


सभा सुरु हुनुअघि वडाको नीति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए । तर, वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल हुन नसकेपछि प्रमुख पौडेलले सभा स्थगित गरेका हुन् ।

नगर प्रमुख राजन पौडेलले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरेका थिए । पौडेलले गणपुरक संख्या नपुगेको बताइरहदा सभा हल भने नगर सभा सदस्यले भरिएको थियो ।

नगर सभाको विषयमा असहमति  जनाएका नगर सभा सदस्यले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेका कारण गणपुरक संख्या नपुगेको हो । नेकपा माओवादी केन्द्रबाहेक अन्य दलबाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र नगर सभा सदस्यबाट अधिकांशले उपस्थिति जनाएका थिएनन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब ३ बजेसम्म सुरु नभएपछि प्रमुख पौडेलले स्थगित गरेका थिए । स्थगित गरिएको सभाको अर्को मिति भने तोकिएको छैन् ।

हामीलाई अन्यौलमा राखेर सभा हुँदैनः वडाध्यक्ष

कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र वडाको  विषयमा छलफल नभएको भन्दै वडाध्यक्षहरूले चर्को असन्तुष्टि जनाएका छन् ।

उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको माग थियो । तर, नीति तथा कार्यक्रमको विषयमा कार्यपालिका बैठकमा छलफल हुन नपाएपछि वडाध्यक्षले असन्तुष्टि जनाएका हुन् ।

नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल गर्न बिहीबार  कार्यपालिका बैठक बोलाइएको थियो । दिउँसो बोलाइको बैठक राति आठ बजेसम्म पनि सुरु हुन नसकेपछि सबै कार्यपालिका सदस्य घर फर्किएका थिए ।

राति ८ बजेसम्म कार्यपालिका सदस्य नगर प्रमुख पौडेललाई पर्खिएर बसेका थिए । आफ्नो कार्यकक्षमा बसेर नगर प्रमुख पौडेल सभाहलमा गएनन् । नगर प्रमुख छलफलका लागि नआएपछि कार्यपालिका सदस्य घर फर्किएका थिए ।

कार्यपालिका सदस्य घर फकिएको केही समयपछि नगर सभामा उपस्थित हुन मोबाइल म्यासेजमार्फत सबै नगर सभा सदस्यलाई खबर गरिएको थियो । बैठकका लागि रातिसम्म उपमहानगरपालिकामा पर्खिएर बसेका कार्यपालिका सदस्य अचानक नगर सभाको खबर आएपछि अचम्मित बनेका थिए ।


‘सभामा जानुअघि नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल हुनुपर्छ भनेर सबै कार्यपालिका सदस्यले भन्दै आएका थियौ’ वडा नं। १ का अध्यक्ष हिराबहादुर गुरुङले भने ‘त्यसैले हामी रातिसम्म भएपनि छलफलका लागि पर्खियौँ । तर, मेयरसाप सभाहलमा नआएपछि हामी फर्कियौँ र फर्किएको केही समयपछि मोबाइलमा म्यासेज आयो ।’

कार्यपालिकामा छलफल गरेर मात्रै नगर सभामा जाने सहमति भएता पनि व्यवहारमा त्यस्तो नदेखिएपछि सबै वडाध्यक्ष र कार्यपालिका सदस्यले त्यसको विरोध गरेको गुरुङले बताए । ‘सभामा जानुअघि निति तथा कार्यक्रम छलफल हुनुपर्छ भनेका थियौं । केही कुरा छुटेका भए थप्नुपर्छ भन्ने हाम्रो भनाइ हो’ गुरुङले भने ।

वडा नंम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाको सिलिङको विषयमा वृहत् छलफल गरेर अघि बढ्न सुझाव दिए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले बैठकमा छलफलनै नगरी ल्याइएको कार्यक्रम र बजेटप्रति असहमति जनाए ।

प्रमुख पौडेलको अमर्यादित शैली, उपप्रमुखले बोल्दाबोल्दै माइक खोस्ने प्रयास

अन्यौलमा रहेको नगर सभाको विषयमा उपप्रमुख भोलाप्रसाद अधिकारीले आफ्ना भनाई राख्दै गर्दा नगर प्रमुख राजन पौडेलले अत्यन्तै अमर्यादित शैली देखाएका छन् । उपप्रमुखले बोलिरहेकै बेला पौडेलले पटकपटक माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको सभाका विषयमा नगर सभा सदस्यलाई सम्बोधन गरिरहेका उपप्रमुखको माइक खोस्ने प्रयास गरेका पौडेल आक्रोशित देखिन्थे ।

आफ्नो र उपप्रमुखको पदिय मर्यादा बिर्सिँदै प्रमुख पौडेलले माइक खोस्न थालेपछि पत्रकारले उपप्रमुखलाई ‘बोल्न दिनु’ भन्दै आग्रह गरेका थिए ।

प्रमुख पौडेलले यसअघि वडा नंम्बर ३ का अध्यक्ष तारा कार्कीले आफ्ना भनाई राख्ने क्रममा पनि माइक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको नगर सभाको विषयमा छलफलबाट निष्कर्ष निकाल्नुपर्ने वडाध्यक्षको मागका विषयमा आफ्नो भनाई राखेका प्रमुख पौडेलले लगत्तै वडाध्यक्ष कार्कीले बोल्ने क्रममा माइक खोस्ने प्रयास गरेका थिए ।

कार्यक्रममै वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल बोल्ने क्रममा माईक खोसेका थिए । प्रमुख प्रशासकीय अधिकृत पोखेरेलले नगर सभा स्थगित गर्ने कुरा चलेको र विधिवतरुपमा सभाको सुरुवात गर्न राष्ट्रिय धुन बजाउन आग्रह गरेलगत्तै कार्कीले माइक खोसेका हुन् ।


Author

थप समाचार
x