मधेश

जसपा अध्यक्ष यादवले मधेशलाई कमजोर बनाए : लोसपा

सुभाष कर्ण |
असार १४, २०७९ मगलवार ८:२७ बजे

जनकपुरधाम- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशलाई कमजोर बनाएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरूले आरोप लगाएका छन् ।

संगठन सुदृढिकरण र स्थानीय निर्वाचनको समीक्षाबारे सोमबार लोसपा मधेश प्रदेश समिति बसेको बैठकमा लोसपाका नेताहरूले मधेश मुद्दा कमजोर पार्नमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख भूमिका रहेको आरोप लगाउँदै आगामी निर्वाचनमा एकीकरण वा गठबन्धन गर्न नसक्ने धारणा राखेका थिए ।


बैठकमा स्थानीय निर्वाचनको समीक्षा गर्दै लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्टसँग मिलेर मधेश केन्द्रित र मधेश मुद्दालाई कमजोर बनाएको आरोप लगाए ।

उनले भने, ‘मधेश आन्दोलनमाथि दमन गरेका कांग्रेस र कम्युनिष्टसँग मिलेर उपेन्द्र यादवको पार्टीले सत्ताका लागि मधेश मुद्दालाई कमजोर बनाउने काम गरयो जसको परिणाम स्थानीय निर्वाचनमा मधेशीलाई भोग्नु परेको छ ।

बैठकमा उनले भने मधेशका मुद्दालाई कमजोर बनाउने को हो भन्ने कुरा जनतामा गएर बुझाउन जरुरी छ । नेता सोनलले मधेश आन्दोलनको मुद्दामाथि कुठाराघात गरेर पटक पटक धोका दिएकाहरूको असली चरित्र जनतालाई देखाउन र मधेशवादका लागि सक्रिय रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

बैठकमा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मत र आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा अन्य पार्टीसँग चुनावी तालमेल गर्नेलगायतका विषयमाथि समेत छलफल गरिएको पार्टीका प्रमुख सचेतकसमेत रहेका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । उनले यी विषयहरूमाथि छलफल गेरेर केन्द्रीय कमिटीलाई प्रतिवेदन पठाउने निर्णय भएको जानकारी दिएका छन् ।

सो बैठकमा प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन, प्रदेश सचिव रामविनोद चौधरी लगायतका नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x