मधेश

चुनावमा हारेपछि पुनः हाजिर गराउँदा...

सुभाष कर्ण |
असार १४, २०७९ मंगलबार १८:४७ बजे

जनकपुरधाम - स्थानीय चुनाव लड्न राजीनामा दिएकी एक शिक्षिकालाई पुनः हाजिर गराएको विरोधमा धनुषाको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन ।  

जिल्लाको गणेशमान चारनाथ नगरपालिका बरमझिाया माध्यमिक विद्यालयमा स्थानीय चुनाव लड्न राजीनामा दिई चुनावमा हारेपछि पुनः सो विद्यालयमा सोही पदमा शिक्षिका रेखा यादवलाई हाजिर गराउँदा स्थानीय अभिभावकको सहयोगमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन ।


विद्यालयका प्रधानाध्यापक राजदेव यादव आर्थिक प्रलोभनमा परि स्वेक्षिक रुपमा राजीनामा दिएकी शिक्षिका यादवलाई हाजिर गराएको आरोप विद्यार्थीहरुको रहेको छ ।

उनीहरुले शिक्षिका यादवलाई कामकाजबाट रोक्का गरी सो ठाउँमा प्रतिष्पर्धाका आधारमा अन्य शिक्षिका नियुक्त गर्नुपर्ने माग अघि सार्दै माग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन ।

स्थानीय तहको निर्वाचनमा प्रा.वि. राहत तृतीय श्रेणीकी शिक्षिका रेखा यादव उपमेयर पदमा उमेदवार बन्न घरायसी कारण देखाई वैशाख ८ गते नै राजीनामा दिएका थिए । तर माओवादी केन्द्रबाट टिकट पाउन सकिनन् । निर्वाचन सम्पन्न भए लगतै पुनः सो विद्यालयमा सोही पदमा नियुक्त भई कामकाज गर्न खोज्दा विद्यार्थीहरुले विरोध जनाएको स्थानीय दिनेश यादवले बताएका छन ।

उनले भने, `कुनै पनि शिक्षक स्वेक्षिक रुपमा राजीनामा दिइसकेपछि सो पद रिक्त हुन जान्छ सो पदमा पूर्ति गर्न विज्ञापन गरेर प्रतिष्पर्धाको आधारमा पुनः नयाँ प्रक्रिया अपनाउनु पर्छ त्यसमा जो कोही पनि आउन सक्छ तर त्यस्तो प्रक्रिया नअपनाइ आर्थिक चलखेलको आधारमा गैरकानुनी रुपले सोही शिक्षकलाई भर्ना गर्नु गलत हो ।`

यता वडाध्यक्ष नन्दकिशोर यादवले विद्यालयमा प्रधानाध्यापक सहितका केही शिक्षकहरुले खुल्ला राजनिति गरिरहेको कारण विद्यालयको पठन पाठनमा नकारात्मक प्रभाव परेको बताए ।

उनले भने, विद्यालयमा दरबन्दी अनुसार शिक्षक छैनन्, विद्यार्थीहरुलाई अहिलेसम्म किताब दिइएको छैन भएका शिक्षकहरु पनि विद्यालयमा नआउँदा पठनपाठन नराम्ररी प्रभावित भएको कारण विद्यार्थीसहित उनका अभिभावकहरूले वडा कार्यालयमा पटक पटक गुनासो गर्दै आएका छन ।

उनले भने, `वडा कार्यालयले ०७९ असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्रधानाध्यापक राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा सो विषयमा आवश्यक छानबिन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाइसकेको छु तर हालसम्म कुनै चासो लिएको छैन ।`

शिक्षा जस्तो संवेदनशिल विषयमा पनि जिल्ला शिक्षा विकास समन्वय इकाइ धनुषा र नगरपालिकाको कार्यालयले कुनै प्रकारको प्रतिक्रिया नजनाउनुले कतै न कतै यिनीहरूको मिलोमतो रहेको त छैन ? भन्ने प्रश्न अभिभावकहरूले गरिरहेको छ ।

शिक्षिका यादवको राजीनामा पत्रमा प्रधानाध्यापक राजदेव यादवले तोक लगाइएको अवस्थामा मिति ०७९ वैशाख ८ गते नै दर्ता गरिसकेको छ । ०७९ बैशाख ९ गते देखि लागू हुने गरि प्र.अ. राजदेव यादवले राजीनामा स्वीकृत गरेको र ०७९ वैशाख ९ गते पं.सं. २०७८/०७९ च. नं. ६२ को पत्र रेखा यादवको नाममा पठाएको देखिन्छ ।

यसैबीच जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषाका प्रमुख युद्धप्रसाद शर्माले सो विद्यालयको विवादबारे आफूलाई थाहा भएके तर, राजीनामा स्वीकृत गरिएको भन्ने पत्र आफू कहाँ आइनपुगेको बताए । `राजीनामा स्वीकृत भएको एक महिनासम्म आफू कहाँ सम्बन्धित विद्यालयले पत्र नपठाउनु गलत हो, यस बारे बुझ्छु`, उनले भने ।

साथै उनले राजीनामा स्वीकृत भई सनाखत भइसकेको छ भने सो पद रिक्त हुन जाने जानकारी दिए । `त्यसमा पुनः पद बहाल गर्न प्रतिष्पर्धाको आधारमा विज्ञापन गरेर नियुक्त गर्ने प्रक्रिया अपनाउनुपर्छ यदि कुनै प्रअले सिधै राख्न खोज्यो भने त्यो गलत हुन्छ`, उनले भने । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x