मधेश

कमीसनको खेल हुँदा यसरी दिइयो काम नसकिँदै भुक्तानी

सुभाष कर्ण |
साउन २५, २०७९ बुधबार २०:३९ बजे

जनकपुरधाम । मधेस प्रदेश सरकारका एक निकायले काम पूरा नहुँदै कमीसनका लागि भुक्तानी दिएको पाइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले प्रांगरिक मल तथा गड्यौला मल उत्पादनका लागि अनुदानवापतको रकम विभिन्न तीन वटा फार्मलाई काम नहुँदै भुक्तानी दिएको हो ।


महोत्तरीको भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साह सञ्चालक रहेको द्वारिका गाई फार्म, धनुषाको लक्षमीनियाँ गाउँपालिकाको हाइवे पशुपालन फार्मका जयशंकरनाथ झा र मिथिला विहारी नगरपालिका ठेरास्थित विषणुदेव झा सञ्चालक रहेको अगार्निक फार्मलाई काम नहुँदै अनुदान वापतको रकम दश÷दश लाखका दरले निर्देशनालय भुक्तानी बुझिएको छ ।

आर्थिक वर्ष ०७८÷७९ मा गाई गौशाला तथा ठूला व्यवसायिक पशु फार्महरूमा प्राङ्गारिक मल तथा गड्यौले मल उत्पादनमा अनुदान सहयोग कार्यक्रम ल्याएको थियो। सो कार्यक्रम अन्तर्गत धनुषाको दुई, महोत्तरी र सर्लाहीको एक फार्मलाई दश÷दश लाख अनुदान रकम दिने सम्झौता भएको थियो । तर, सर्लाहीको फार्मले सम्झौता गरेपनि  काम गरेन तर भुक्तानी पाए ।

द्वारिका गाई फार्मका रामजतन साहले भुक्तानी लिइसकेपनि अहिलेसम्म मुश्किलले ५० प्रतिशत काम गरेको छ । भुक्तानी लिएको बेला असार मसान्तसम्म ४० प्रतिशतको हाराहारीमा काम भएको थियो । आवाज उठ्न थालेपछि केही काम थपेको छ ।

फार्मका सञ्चालक साहले काम पूरा नहुँदै भुक्तानी लिएको स्वीकार गरेका छन् । उनले भने ‘आफूले लिएको रकम बराबरको काम पूरा गर्नेछु नगरे सरकारको पैसा फिर्ता गर्नेछु ।’

साहले कमीसनको कारण काम पूरा गर्न नसकिएको स्पष्ट रुपमा नभनेपनि कर्मचारीकै आलटालको कारण काम पूरा नभएको बताएका छन् । उनले अप्रत्यक्ष रुपमा भने कर्मचारीहरुले विभिन्न बहाना बनाएर रकम मागेको कारण काम पूरा गर्न नसकिएको सुनाए ।

स्रोतका अनुसार मल उत्पादन गर्नेसहितका संरचना निर्माण गर्न १९ लाख रुपैयाँको सम्झौता भएको थियो, जसमा अनुदानवापत १० लाख रुपैयाँ निर्देशनालयले दिने भनिएको थियो । जसमा निर्देशनालयका कर्मचारी र फार्म सञ्चालकबीच अनुदान रकममा ५० प्रतिशतको हाराहारीमा कमीसन दिने आन्तरिक सहमति भएको थियो ।
सो सहमतिको आधारमा काम पूरा नहुँदै यी तीनवटा फार्मलाई रकम भुक्तानी गरियो । तर फार्म सञ्चालकहरुले कमीसनवापतको रकम दिन आलटाल गर्न कर्मचारीहरु फार्म सञ्चालकहरुको घरसम्म पुग्न थालेपछि कुरा बाहिरिएको हो ।

कार्यालय निर्देशक जागेश्वर यादवले पनि काम पुरा नहुँदै भुक्तानी दिएको स्वीकार गरेका छन् । उनले भने ‘काम पूरा गर्ने फार्म सञ्चालकको प्रतिबद्धताको आधारमा अगाडि नै भुक्तानी दिइएको हो ।’ निर्देशक यादवले थप्दै भने ‘काम गर्ने प्रतिबद्धता भएको छ, काम गर्नैपर्छ, ।’ 

कार्यालयका अधिकृत रञ्जितकुमार अधिकारीले पनि फार्म सञ्चालकहरुले काम पूरा गर्छु नै भनेको विश्वासको आधारमा भुक्तानी दिइएको बताए । यदि काम पूरा नगरे असुल उपर गरिनेछ । कर्मचारीसँग कमीसनको आधारमा काम पूरा नहुँदै भुक्तानी गरिएको भन्ने प्रसंगमा उनले यो आरोप सरासर गलत भएको दाबी गरे ।

अधिकृत अधिकारी झै निर्देशक यादवले पनि जो कसैले पनि कमीसनको आन्तरिक सहमतिमा काम पूरा नहुँदै भुक्तानी गरिएको झुटो भएको दाबी गर्छन् । उनले भने 
‘काम सम्पन्नको बाटो हेर्दा तिनीहरुको भुक्तानी हुन सक्ने अवस्था नरहेको कारण कसैलाई पनि मार्का नहोस भन्ने उद्देश्यले तिनीहरुको प्रतिबद्धताको आधार दिइएको हो ।’

तर स्रोतका अनुसार निर्देशक यादव र अधिकृत रञ्जितले द्वारिका गाई फार्मका सञ्चालक रामजतन साहलाई फोनमा सम्पर्क गर्दा कहिले बाहिर छु भन्ने त कहिले फोन नै नउठाउने गरेका कारण उनीहरु साहको फार्म र घरसम्म कमीसनको रकम लिन पुगेका थिए ।

यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले काम पूरा नहुँदै भुक्तानी दिनु गलत भएको बताउँछन् । ‘त्यसमा पनि कमीसनका लागि काम नगर्नु भनेको अपराध नै हो,’ उनी भन्छन्, ‘हामी यो घटना सम्बन्धमा छानबिन गर्नेछौ ।’ दोषी देखिएका कर्मचारी र फार्म सञ्चालकलाई कानून बमोजिम कारवाही गरिने उनले बताए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x