मधेश

मधेश सरकार जम्बाे टाेलीकाे स्वीट्जरल्याण्ड भ्रमण रद्द

सुभाष कर्ण |
साउन २६, २०७९ बिहिवार १८:१९ बजे

जनकपुरधाम- आउँदाे भदाै ६ गते स्वीट्जरल्याण्ड भ्रमणमा जाने मधेश सरकारका जम्बाे टाेलीकाे भ्रमण रद्द भएकाे छ । संघीय सरकारले समयमै भ्रमणबारे निर्णय गर्न नसक्दा र चुनावकाे मिति घाेषणा भइसकेका कारण भ्रमण रद्द भएकाे जनाइएकाे छ ।

मधेस प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्राविधिक कारणले भ्रमण रद्द भएको जानकारी दिएका छन् । उनले भने, 'केन्द्र सरकारले मन्त्रिपरिषदबाट निर्णय गर्न ढिलाइ गरेको र चुनावको मिति पनि घोषणा भइसकेकाे दुई/तीनवटा कारणले गर्दा भ्रमण रद्द भएको हाे ।'


गत ३१ असारमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्विट्जरल्यान्ड भ्रमणमा जाने निर्णय गरेको थियो । साे निर्णय अनुसार मुख्यमन्त्री लालबाबु राउतकाे नेतृत्वमा मन्त्री, प्रतिपक्षी दलमा सदस्य लगायत सदस्य टोली ६ भदौमा स्वीट्जरल्याण्ड भ्रमणमा जाने तयारी गरेको थियो ।

मधेस सरकारका साे टाेलीले साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावअघि प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएकाे बेला मन्त्रिपरिषदबाट भ्रमणकाे इजाजतबारे पनि निर्णय गरिदिन आग्रह गरेको थियो ।

संघीयता मोडेलबारे अध्ययन गर्न जेनेभा विश्वविद्यालयको निमन्त्रणामा मधेस सरकारका प्रतिनिधि टाेली स्वीट्जरल्याण्ड जाने तयारी गरेको थियो । भ्रमणका क्रममा बस्‍ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको थियो । टिकट खर्च प्रदेश सरकारले आफैँ बेहोर्ने भन्‍ने कुरा बताइएकाे थियाे ।

साे भ्रमण टोलीमा मुख्यमन्त्री राउतसँगै सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादवको नाम समावेश गरिएको थियो ।

त्यस्तै प्रतिपक्षी दलबाट लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य रानी शर्मा, नेकपा एमालेका प्रदेश सभा सदस्य शारदादेवी थापा, प्रदेश सभाका सचिव रञ्जित यादव लगायतको नाम भ्रमण टोलीमा छनाेट गरिएकाे थियाे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x