मधेश

संघ सरकारविरूद्ध मधेश सरकारद्वारा धर्नासहितको आन्दोलन घोषणा

सुभाष कर्ण |
साउन २८, २०७९ शनिबार १३:३ बजे

जनकपुरधाम- प्रहरी समायोजन र हस्तान्तरणका माग गर्दै मधेश सरकारले संघीय सरकारविरूद्ध धर्नासहितको आन्दोलनको घोषणा गरेको छ । संघ सरकार प्रहरी समायोजनका लागि गम्भिरता नदेखाएको आरोप लगाउँदै मधेश सरकारले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मधेश सरकारका गृह तथा सञ्‍चार मन्त्री भरत साहले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश सरकारले साउन २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मन्त्री साहले जानकारी दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने सो धर्नामा मधेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, नागरिक समाजका अगुवालगायत सर्वपक्षिय सहभागिता रहने उनले बताए । 


तपाईंकै पार्टी सम्मलित संघीय सरकार हो तर पनि माग पूरा हुन नसक्नु भन्ने जिज्ञासामा मन्त्री साहले संघीयता नरूचाउनेहरूको घेरामा संघीय सरकार रहेको आरोप लगाउँदै मेरो पार्टीमा समेत संघीयता नरूचाउनेहरू छन्, ती घेरालाई तोडन मधेश सरकार अघि बढेको बताए ।

गत साता प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षणले पहल नभएपछि मधेश सरकारले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको आन्दोलनबाट पनि संघ सरकारले प्रहरी समायोजनलगायतका अधिकारको विषयमा गम्भिरता नदेखाए प्रदेश सरकार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने मन्त्री साहले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x