मधेश

मधेस प्रदेशका ३९ स्थानीय तहले बजेट ल्याउन सकेनन्

सुभाष कर्ण |
साउन २८, २०७९ शनिबार १८:४२ बजे

फाइल तस्बिर

जनकपुरधाम- चालू आर्थिक वर्ष २०७९/८० का लागि नगर सभाकाे दुई महिना बित्न लाग्दा पनि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
गत आर्थिक वर्षको असार १० गतेभित्र ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेकामा राजनीतिक विवादका कारण मधेश प्रदेशका ३९ स्थानीय तहले बजेट ल्याउन नसकेकाे हाे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे तथ्यांक अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६३ स्थानीय तहले हालसम्म बजेट पेस गर्न सकेका छैनन्, जसमा सबभन्दा बढी मधेस प्रदेशकै स्थानीय तह रहेका छन् ।


मधेस प्रदेशका कूल १३६ स्थानीय तह मध्ये ३९ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । बजेट पेस गर्न नसकेका सबैभन्दा बढी राैतहट जिल्लाका ९ र सबैभन्दा कम महोत्तरीका एक स्थानीय तह मात्र छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार सप्तरीका ५, सिराहाका ६, धनुषाका ५, सर्लाहीका ३, बाराका ५ र पर्साका ५ वटा पालिकाहरुले बजेट ल्याउन नसकेका हुन् ।

धनुषाका १८ स्थानीय तह मध्ये धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकासहित ५ स्थानीय तहले मन्त्रालयमा अझै बजेट पेस नगरेकाे कुरा मन्त्रालयकाे वेबसाइटमा प्रविष्ट नहुनुले देखिन्छ । सप्तरीका १८ पालिका मध्ये कञ्चनरुप नगरपालिका, बोदेबरसाईन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बिष्णुपुर गाउँपालिका र बलान बिहुल गाउँपालिकासहित ५ वटा पालिकाले बजेट प्रविष्ट गरेका छैनन् ।

त्यस्तै, सिराहाका १७ मध्ये मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकाले बजेट पेस गर्न सकेका छैनन् । यता, महोत्तरीका १५ स्थानीय तह मध्ये सोनमा गाउँपालिका सर्लाहीको २० स्थानीय तह मध्ये मलंगवा नगरपालिका, बागमती नगरपालिका र विष्णु गाउँपालिकाले बजेट ल्याएका छैनन् ।

त्यस्तै, रौतहटका १८ स्थानीय तह मध्ये ९ ईशनाथ नगरपालिका, कटहरिया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले बजेट ल्याएका छैनन् । बारा जिल्लाका १६ स्थानीय तह मध्ये महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका र प्रसौनी गाउँपालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् ।

त्यस्तै, पर्साका १४ स्थानीय तहमध्ये पोखरिया नगरपालिका, धोबीनी गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकासहित स्थानीय तहले बजेट ल्याएनन् ।

कार्यपालिका बाेर्डमा बहुमत अल्पमत र बाेर्डमा दलीय बर्चस्वकाे आधारमा याेजना बाँडफाँटमा हुन नसक्दा अधिकांश स्थानीय तहले नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरेपनि बजेट ल्याउन सकेकाे छैन ।

विदेह नगरपालिकाका मेयर बेचन दासले बजेट ल्याउन नसकेकाे स्वीकार गर्दै भने, 'पालिका बाेर्डमा आफ्नाे बहुमत रहेपनि याेजना वितरणमा कांग्रेस, माओवादी र नेकपा एससहित ४ जना वडाध्यक्षकाे अवरोधका कारण ल्याउन नसकेनाैँ ।'

उनले असन्तुष्ट वडाध्यक्षहरूसँग कुरा मिलिसकेकाे र दुई/चार दिन भित्रै पारित गरी मन्त्रालयमा पेस गर्ने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x