मधेश

निजगढ नगरपालिकामा भएको तालाबान्दी खोल्न राप्रपाको ७२ घण्टे अल्टिमेटम

इकागज |
साउन २९, २०७९ आइतबार १८:७ बजे

बारा- राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टाभित्र ताला खोली काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो । 

विगत १४ दिनदेखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत कार्यपालिका सदस्य घमन्डका कारण नगरपालिकाबाट सर्व साधारणले पाउनुपर्ने सेवाबाट वञ्चित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य बिनोद भारतीले बताए ।    


यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीले तत्काल ताला खोलेर काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । यदि ताला नखोलेमा राप्रपा निजगढले ताला खोल्न र दुवै पक्षसँग आवश्यक समन्वय गर्न तयार रहेको बताए ।

उनीहरूले ताला खोल्ने, नियमित काम काज सुचारु गर्न र विभिन्न बहानामा गरिएको तालाबन्दीको विरोधसमेत गरेका छन् । 

राप्रपा निजगढले आज निजगढ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन् । 

ज्ञापन पत्र बुझाउँदै राप्रपा निजगढले जनताको सेवा प्रवाहका लागि तालाबन्दी खोलेर वातावरण सहज गराउनसमेत निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकोटालाई आग्रह गरेका छन् ।

 

 


Author

थप समाचार
x