गुठीको चार हजार बिघा बढी जग्गा हिनामिना, सम्बन्धित निकाय बेखबर
जनकपुरधाम : जनकपुरधामस्थित मठ मन्दिरका ४ हजार ९३ विग्घा बढी जग्गामा भूमाफियाले कब्जा जमाएका छन् । गुठी संस्थानअनतर्गत रहेको ४ हजार ९३ विग्घा १ कट्ठा ३ धुर जग्गाको सरकारी निकासँग पनि कुनै लेखाजोखा छैन । केही जग्गा भूमाफियाले बेचेर खाए भने केही स्थानीयले अतिक्रमण गरेर कब्जा जमाएका छन् । गुठीअन्तर्गत रहेको जग्गामा सरकारी नकिाय र राजनीतिक प्रतिनिधिले रजाईँ गरिरहेको विभिन्न प्रमाणले देखाउँछ ।
अधिकांश जग्गा गुठी संस्थान तथा मठ मन्दिरका महन्थहरु मिलेर भूमाफियामार्फत बेचेको र बेच्ने क्रम जारी रहेको स्थानीय बताउँछन् । तर सम्बन्धित गुठी संस्थान कार्यालय भने यसबारे बेखबर छ । जनकपुरधामस्थित विभिन्न मठ मन्दिर अन्तर्गत कुल ४ हजार ६ सय १० विग्घा १६ कट्ठा २ धुर जग्गा थियो । तर हाल ५ सय १७ विग्घा १४ कट्ठा ९ धुर मात्र जग्ग बाँकी रहेको श्रेस्तामा देखिएको छ ।
वि.सं. २०६२ सालमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको प्रतिवेदन अनुसार उक्त तथ्यांक देखिएको हो । अवैध विक्री वितरण र अतिक्रमण गर्ने क्रम जारी रहेकोले हाल कति जग्गा छ भन्ने बारे गुठी संस्थानसँगै पनि यसकन तथ्यां छैन । गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी मातहतमा कति जग्गा छ भन्ने यकिन तथ्यांक नभएको बताए । हाल मुस्किलले ३/४ सय विग्घा जग्गा बाँकी रहेको हुन सक्ने उनले बताए ।
‘म नयाँ आएको हुनाले यकिन तथ्यांक छैन ।’ ईकागजसँग उनले भने, ‘ कति जग्गा बिक्री भयो या अतिक्रमण भयो त्यसको समेत विवरण कार्यालयमा छैन ।’ भोजराज घिमिरेलेको संयोजकत्वमा गठित छानबिन समितिले अध्ययन पश्चात जारी गरेको प्रतिवेदन अनुसार जनकपुरधामस्थित १४ वटा मठ मन्दिरको राजगुठी अन्तर्गत साबिक क्षेत्रफल ४६१०—१६—२ लगत देखिएको मध्ये २०६०÷०६१ सम्म २९७२—८—३ क्षेत्रफलको जग्गा रैतान नम्बरी गराइसकेको थियो ।
बाँकी रहेका १६३७—१२—१३ जिरायत जग्गा मध्ये गुठी संस्थानले १७७—१३—१९ विभिन्न व्यक्तिको नाममा मोही कायम कटा गरेपछि वि.सं. २०६२ सालसम्म गुठी अधिनस्थ १४५९—१७—१४ जग्गा मात्र देखिएको छ ।
प्रतिवेदन अनुसार ती जग्गा मध्ये दर्ता भएको ५४७—७—४ र दर्ता प्रक्रियामा रहेको ७७—८—२ क्षेत्रफल जरी कुल ६२४—१५—६ मात्र गुठीको विभिन्न मठ मन्दिरको नाममा देखिएको र त्यसमा पनि ६३ विघा ९ कट्ठा ९ धुर जग्गा सरकारी कार्यालयहरुले कब्जा गरी भवन खडा गरेको देखिएको छ ।
प्रतिवेदन अनुसार गुठीका विभिन्न मठ मन्दिरको १४५९—१७—१४ क्षेत्रफल मध्ये ८३५—२—८ कहाँको कुन जग्गा हो यकिन समेत गर्न सकिएको छैन ।
कर्मचारीकै मिलेमतोमा भूमाफियासँग मिलेर संस्थानको जग्गा बिक्री वितरण भइरहेको स्थानीयको आरोप छ ।
कर्मचारीकै मिलोमतोमा गुठी अन्तर्गतका मठ मन्दिरको जग्गा बिक्री वितरण भएको कुरा तात्कालिन कार्यालय प्रमुख मनोज शर्माविरुद्ध अख्तियारमा परेकोले मुद्धाले पुष्टि गर्ने युवा अिभयन्ता सरोज मिश्र बताउँछन् । युवाहरूले पटकपटक आवाज उठाउँदा र गुठी संस्थानमा तालाबन्दी गर्दा समेत यकिन विवरण पाउन नसकिएको उनले बताए ।
रैतान र मनपखको नाममा अवैध बिक्री
विगतमा गुठी संस्थान ऐनलाई टेकेर संस्थानका पदाधिकारी स्वयं तात्कालिन राजाका आसेपासे, पदाधिकारी र कर्मचारीहरुलाई हजारौ विग्घा रैतानको नाममा निजी नामसारी गरिएको विभिन्न अध्ययनले देखाएको छ ।
यसबाहेक स्थानीय राजनीतिज्ञ समेतले ऐनको दुरुपयोग गर्दै सयौ विग्घा जग्गा आफ्ना नातेदार र आसेपासेको नाममा नामसारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार राम मन्दिर, जानकी मन्दिर, लक्ष्मण मन्दिर, कुवा मन्दिर र हनुमाननगर मन्दिरको वि.सं. २०४३ अघिसम्म २८ सय विग्घाभन्दा बढी र २०४३ देखि २०६१ सम्म एक सय विग्घा जग्गा रैतानीको नाममा अवैध विक्री र कब्जा गरिएको हो ।
२०६१ पछि मोहि समेत कट्टा गरी साबिक जिरात देखिएका १४५९—१७—१४ जग्गा मध्ये करीब साढे सय विग्घा जग्गा यकिन हुन बाँकी रहेको देखाएको छ ।
तर ती जग्गाहरु गुठी र मठमन्दिरका महन्थहरुले मालपोत कार्यालयकै मिलोमतोमा विक्री गरिसकेको स्थानीय बताउँछन् । जसमा अहिले ठूलठूला भवन खडा गरिएका छन् । तिनलाई अतिक्रमणमुक्त गर्न समेत सरकारलाई हम्मेहम्मे पर्ने देखिन्छ ।
प्रतिवेदन अनुसार ६३—९—९ जग्गामा सरकारी कार्यालय स्थापना भएको र ६३—९—९ क्षेत्रफल जग्गामा मात्र अतिक्रमण भएको हो, किनकी अन्य जग्गा बिक्री वितरण भइसकेको छ ।
राम मन्दिर गुठी संस्थानको अधिनमा रहेको कारण त्यस बाहेकका जानकी मन्दिर, रत्न सागर लगायतक मन्दिरका महन्थहरुले अनाधिकृत रुपमा जग्गा विक्री वितरण गरेका छन् । राममन्दिरको जग्गा गुठीका पदाधिकारी तथा कर्मचारीहरुबाट विक्री वितरण र लिजमा दिइएको हो ।
जानकी मन्दिर, रत्न सागर लगायतक मन्दिरका महन्थहरुले गुठी संस्थान ऐन २०३३ संशोधन सहितको ऐनमा २०४६ साल चैत ६ गतेभन्दा पुर्व गुठीको जग्गामा घर बनाइसकेको व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गरिदिने प्रावधानको पाइदा उठाउंदै २०५१ सालको नापी अघि त्यस पश्चात पूर्व महन्थको नाममा जालसाजी मनखपको कागज बनाइ अनाधिकृत रुपमा व्यक्तिको नाममा जग्गा नामसारी गरी विक्री वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जानकी मन्दिरका महन्थले हाल पनि मनखप र लीजको नाममा करोडौ मूल्य बराबरको जग्गा सस्तो मूल्यमा अनाधिकृत रुपमा बिक्री वितरण गर्दै आएका छन् ।
रत्नसागर मन्दिरका तात्कालिन महन्थ वैकुण्ठ दास हाल अनाधिकृत रुपमा जग्गा विक्री गरेकै आरोपमा जेल सजाय भोगी रहेका छन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकी मन्दिर मात्र होइन त्यस अन्तर्गत रहेको लक्ष्मण मन्दिरको जग्गा समेत विक्री वितरण गरेको सो प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न १४ वटा मठ मन्दिरका केही जग्गा मात्र अतिक्रमण भएको छ । अधिकांश जग्गा यकिन हुन नसकेको, लिज र अतिक्रमणको नाममा जाली कागज बनाई विक्री वितरण गरिएको अध्ययन प्रतिवेदनमा भनिएको छ । अतिक्रमित जग्गा मुक्त गराउन निकै प्रयास गरेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तात्कालिन अध्यक्ष रामकुमार शर्मा बताउँछन् । तर उनको प्रयास सफल हुन सकेन ।
मन्दिरको जग्गा कति थियो ?
रैतान हुनु अघि जनकपुरधामस्थित विभिन्न १४ वटा मठ मन्दिर अन्तर्गतको गुठीको नाममा ४६१० विग्घा १६ कट्ठा २ धुर जग्गा थियो । सबभन्दा बढी राम मन्दिर गुठीको नाममा २८६७—२—५—०, जानकी मन्दिर गुठीको नाममा ५९८—१०—४—०, जानकी मन्दिरको प्रागणमा रहेका लक्ष्मण कुटीको ४०९—१—१६ जग्गा थियो ।
त्यस्तै रत्नसागर गुठी ६५—१५—१५, कुवा मठ ४८४—१९—९, हनुमाननगर मठ १४२—१५—०, सिताकुण्ड ९ विग्घा, वराही कुटी ७ विग्घा, विरख कुटी ६ विग्घा, गिरनारी कुटी २ विग्घा, कपिलेश्वर मन्दिर ८ विग्घा १० कट्ठा, रानीपाटी ५ विग्घा, राधाकृष्ण वीरपुर कुटी ५—५—१५ जग्गा साविकमा थियो, तर हाल अधिकांश जग्गा बिक्री भई ठूलठूला भवन बनिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया