कानुनी प्रक्रिया लत्याउँदै बारामा ४६ करोडको योजना शिलान्यास
बारा- नेपाल सरकारका सहरी विकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रबार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउँदै मन्त्री चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका भित्र एकैपटक तीन वटा योजना शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्न मन्त्री चौधरी सहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा आएका थिए ।
मन्त्री चौधरीले अनुमानित ३५ करोड बजेट रहेको पथलैया–वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, इनर्वासिरा बजार, सानो मटिअर्वा, चिनिमिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जोड्ने सडकखण्डको शिलान्यास गरेका छन् । उक्त सडकखण्ड जीतपुरसिमराको वडा नं. ८, १९ र २० मा पर्दछ ।
यसैगरी मन्त्री चौधरीले गढीमाई मन्दिरमा ६ करोडको पार्क, सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ विकासशील चोक, रंगशाला चोक हुँदै एयरपोर्ट सिमाना र एयरपोर्ट रोडको पिपलबोटदेखि विकासशील चोकसम्म पाँच करोडको सडक योजना शिलान्यास गरेका छन् ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत मन्त्रालयको बहुवर्षीय कार्यक्रमअन्तर्गत ५० करोडको बजेटबाट योजना निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन निर्माण विभागले डिपिआर स्वीकृत नगरेको योजनाका लागि यस वर्ष १७ करोड विनियोजन भएको छ ।
काठमाडौँको मनिषा इन्जिनियरिङ कन्सल्टेन्टले स्थानीय तह निर्वाचनपछि उक्त योजनाको डिपिआर तयार गरेको थियो । कानुनी प्रावधानमा भने कन्सल्टेन्टले दिएको डिपिआर प्रतिवेदनमा विभागले उल्लेखित दररेट, विवरण ठीक रहे नरहेको अध्ययन गरी उक्त डिपिआर स्वीकृत गर्नुपर्ने र उक्त डिपिआरकै आधारमा टेण्डर आह्रवान गरेर ठेकेदार छनौट प्रक्रिया गर्नुपर्ने हुन्छ ।
साढे सत्र लाख खर्चिएर कन्सलटेन्टमार्फत तयार गरिएको डिपिआरलाई स्वीकृतनै नगराई र ठेकेदार टुंगो नलाग्दै मन्त्री चौधरीले शिलान्यासलाई प्राथमिकता दिएका हुन् । निर्वाचनको समयमा हतार गरेर शिलान्यास गरिएको भन्दै स्थानीय स्तरमा मन्त्री चौधरीको आलोचना भएको छ । ठेकेदारको टुंगो नलगाएको योजना शिलान्यासपछि अलपत्र पर्ने स्थानीयको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया