मधेश

जित्न सक्ने सिट जसपाले छाड्‌दैन : अध्यक्ष यादव

सुभाष कर्ण |
असोज १४, २०७९ शुक्रबार ६:४५ बजे

जनकपुरधाम- सता गठबन्धन दलबीच सिट बाँडफाँटको सहमति अन्तिम चरणमा रहेको अवस्थामा गठबन्धनका घटक दल जनता समाजवादी पार्टीले कुनै पनि सिट नछाडने अडान लिएका छन् । बिहीबार धनुषाको सहिदनगरमा एमाले प्रभावशाली नेता गंगाराम यादवलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लड्‌न पार्टीलाई कुनै बैशाखीको आवश्यकता नरहेको बताउँदै सिट नछाडने अडान लिएका हुन् ।

'जसपा विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन सक्षम रहेकोले जित्न सक्ने कुनै पनि सिट हामी छाडने छैनौँ' उनले भने  । संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलिय गठबन्धन निर्माण भएको उल्लेख गर्दै अध्यक्ष यादवले भने 'मधेशी आदिवासीलगायतका उत्पिडित वर्गको सम्मान हुने गरि सिटको बाँडफाँट भए आफुहरू अझै गठबन्धनको पक्षमा छौँ ।'


अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँटमा कुनै सहमति नभएको स्पष्ट पार्दै उनले भने 'गठबन्धनमा अहिले सम्म कुनै सहमति भएको छैन, हल्लाको पछाडी नलाग्दा हुन्छ ।' आसन्‍न निर्वाचन अन्य दलहरूको लागि निर्वाचन मात्र भएपनि जसपाको लागि संघर्षको एउटा पहाड मात्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधनमार्फत सही ट्रयाकमा ल्याउन संसद्‌को उपयोग आवश्यक रहेकाले निर्वाचनलाई संघर्षको रुपमा लिन नेताकार्यकर्ताहरूलाई निर्देशन दिए ।

पार्टी परित्याग गरेका नेताहरूलाई संकेत गर्दै उनले भने 'अहिलेको निर्वाचन प्रणालीले बेथितिहरू निँम्त्याएको हुँदा खसी बोका जस्तो सांसदहरू बिक्री हुने प्रणालीलाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान समेत संसद्‌बाट संविधान संशोधन आवश्यक रहेकाले निर्वाचनलाई आफुहरूले संघर्षको रुपमा प्रयोग गर्नेछ ।'

धनुषा क्षेत्र नं.२ चुनावी तालमेलमा कांग्रेसलाई परेको कुरामा अध्यक्ष यादवले भने 'हल्लाको पछि नलाग्नु यहाँ जसपाकै उम्मेदवार हुन्छ । ढुक्क रहन नवप्रवेशी नेता गंगारामलाई आग्रह गर्दै जसपाका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए । जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव प्रवेशी गंगाराम यादव, प्रदेश सभा सदस्य शैलेन्द्रकुमार यादव, रामअशिष यादवसहितका वक्ताहरूले पनि धारणा राखेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x