मधेश

राजदेवी मन्दिरमा पनि भित्र्याइयो फूलपाती

सुभाष कर्ण |
असोज १६, २०७९ आइतवार १२:३० बजे

जनकपुरधाम- आज नवरात्रीको सातौं दिन देशका विभिन्न शक्तिपीठहरूसहित जनकपुरधामस्थित शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ । राजदेवी मन्दिरलगायत जनकपुरधामस्थित दर्जनौं शक्तिपीठहरूको पूजाघरमा विधिपूर्वक फूलपाती भित्र्याइएको हाे ।

नेपाली सेनाको टोलीले बाजागाजासहित उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य मौसमअनुसारका फूलहरू राखेर ल्याइएका फूलपाती राजदेवी मन्दिरमा विधि विधानका साथ पूजापाठ गर्दै भगवती स्वरूप माता राजदेवीको अगाडि राखिएको छ ।


फूलपाती भित्र्याउनेलाई तराई मधेशमा बेलतोरी भनिन्छ । षष्ठी तिथिका दिन बेलतोरी अर्थात् माता भगवतीको आँखा बनाउन प्रयोग गरिने बेललाई छेक्ने गरिन्छ । सोही बेललाई तोडेर भित्र्याउने कार्यलाई बेलतोरी भन्ने गरिन्छ ।

खासगरी पूजाका लागि माता दुर्गाको बनाइएको माटोका मूर्तिको आँखामा बनाउने (फोड्ने) कार्यमा बेलको फल प्रयोग गरिन्छ । सो बेलको बिउले सप्तमीको दिन १२ बजे राति माता दुर्गाको आँखालाई पूर्ण आकृति दिने गरिन्छ ।

तर, राजदेवी मन्दिरमा माटोको माता भगवतीको मूर्ति नभएपनि सोही विधि विधानअनुसार माता राजदेवीको पिडीमा रहेको आँखा आकृतिलाई पूर्ण रूप दिने गरिन्छ । माताको पूर्ण आकृति तयार भएपछि अष्‍टमीका दिन बिहान महिलाहरूले परिवारमा सुखशान्ति र सन्तानको दीर्घायुकाे कामना गर्दै खोंइच भर्ने गरिन्छ ।

खोंइच भराइएपछि सोमाबर अष्टमीको बेलुका भव्यताका साथ निसा पूजा गरिनेछ भने निशा पूजा पश्चात बलि प्रदान कार्यक्रम हुनेछ । जनकपुरधाममा प्रत्येक वर्ष १५ हजारको हाराहारीमा बलि प्रदान हुँदै आएको छ । सोही हाराहारीमा यस वर्ष पनि बलि प्रदान हुने अनुमान गरिएको छ ।

यसका साथै दसैँको पूजाघरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टीका जमरासँगै देवीको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । सोही परम्पराअनुसार पूजाघरमा भित्र्याइएका फूलपाती दसैँ टीकाका दिन प्रयोग गरिन्छ । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x