मधेश

सात महिनापछि दीपावलीले बजारमा रौनकता

सुभाष कर्ण |
कात्तिक २८, २०७७ शुक्रबार ६:५९ बजे

जनकपुरधाम : सात महिनापछि जनकपुरधाम बजारमा रौनकता देखिएको छ । कोभिड-१९ संक्रमण महामारीको कारण चैत ११ गतेदेखि लकडाउनले मन्द भएको जनकपुरधाम बजारमा दसैँमा समेत कुनै प्रभाव पार्न सकेन । तर दीपावलीको सुरुवाती दिनदेखि रौनकता छाउन थालेको छ ।

कोभिड संक्रमण रोकथाम एवं नियन्त्रणका लागि लकडाउन अवधिभर बजार नै बन्द रहयो । साउनयता बजार बिस्तारै खुल्दै गए पनि बन्दले पारेको असरमा सुधार आउन सकेको थिएन । दीपावलीको पूर्व सन्ध्यामा बिहीवार धनतेरशका दिन जनकपुरधाम बजारमा किनमेल गर्नेहरुको भीडले भरिभराउ रहे पनि व्यवसायीको अनुहारमा भने रौनकता देखिएन । सीमित वस्तुको मात्र बिक्री वितरण भएको व्यवसायीहरुले बताएका छन् । बिहानैदेखि लक्ष्मी गणेश भगवानको मूर्ति, किराना सामाग्री, भाडावर्तन, पूजा सामाग्री, फलफूल, विद्युतीय झिलिमिली बत्ती र प्रसाद सामाग्रीको बिक्री वितरण भएको छ ।


तर अन्य वर्षको तुलनामा निकै कम व्यापार भएको व्यवसायी उमेश साहले बताए । उनले भने, ‘बजारमा भीड त छ तर किन्ने ग्राहकभन्दा पनि घुम्ने र मोलमोलाई गर्ने व्यक्ति बढी छन् ।’दीपवालीको पूजापाठका लागि सामाग्री र धन आर्जन गर्ने विश्वासका साथ धनतेरशकै दिन पछिल्ला राम्रो व्यापार हुने गथ्र्यो तर यसवर्ष कोरोनाले पारेको प्रभावका कारण मान्छेसँग पैसा नै नभएको कारण कटौति गरेर सामाग्रीहरु किन्ने गरेको साहले बताए ।

एकतर्फ दिपावलीको सरसजावट तथा पूजापाठको सामाग्रीको पसलमा भीडभाड देखिएको छ भने अर्कोतर्फ कपडा, सुनचाँदी, रेडिमेड र कस्मेटिक सामाग्रीहरुको पसल सुनसान देखियो । ती पसलेहरुको अनुहारमा दिपावलीको खुशहालीको कुनै असर पार्न सकेको छैन ।

ईकागज सँग कुरा गर्दै कपडा व्यवसायी सुरज गुप्ताले भने, ‘पछिल्ला वर्षहरुमा दसैं, दीपावली र छठ पर्वमा फुर्सत हुदैन थियो । तर यसपटक मान्छेले पूजापाठ, भाडावर्तन र झिलीमिली बती लगायतका आवश्यक सामाग्री मात्र किनेका छन् ।’ ‘कोरोना संक्रमणले पारेको गत ७ महिनादेखि व्यवसायमा पारेको प्रभावमा विजयादशमी र दीपावली जस्ता पर्वमा सुधार आउन सकेको छैन,’ उनले भने, ‘मिथिलाञ्चलको लोकपर्व छठमा केही लत्ताकपडालगायतका सामाग्रीको केही विक्री वितरण हुन सक्ला ।’

त्यस्तै सुनचाँदी व्यवसायी मनिष साहले कोरोनाले गर्दा व्यवसायी त बरबाद नै भइसकेको बताए ।  ‘घरधनीले पसलको भाडा एक रुपैयाँ पनि छोडेको छैन, स्टाफ तलब र बैंक ऋण ब्याजले उतिकै सताएको छ,’ उनले भने ।लकडाउन खुले पनि व्यवसाय हुन सकेन । पर्वमा व्यवसायीहरुमा ७ महिनादेखि जर्जर अवस्थामा रहेको व्यापारमा सुधार आउने आश थियो । ‘अर्थतन्त्र नै धराशायी भएको कारण आमजनतासँग पैसे छैन भने कताबाट किनमेल गरुन्,’ उनले भने ।

बजारमा पूजापाठ तथा घरायसी सामाग्री किनमेल महिलाको अधिकांश भीड देखिए पनि तिनीहरुले हातमा बोकेको झोला र पोलिथिनमा सीमित मात्रामा सामान रहेको थियो । थोरै समान किन किनेको भन्ने जिज्ञासामा निजी विद्यालयकी एक शिक्षिका ममता साहले भनिन्, ‘के गर्ने ७ महिनादेखि विद्यालयबाट पूरा तलब पाइएको छैन । जेनतेन गरेर विद्यालय संचालक तलबको आधा जति रकम दियो त्यो घरभाडा र छाक टार्नमै सिध्यो ।’

पैसाको आभाव छ तर पनि दीपावली जस्तो पर्वमा घर सुनसान गर्नुभन्दा राम्रो बचाइएको केही रकमबाट आवश्यक सामाग्री मात्र किनमेल गरेकी हुँ । ममताको मात्रै होइन, यस्ता थुप्रै घर परिवार छन्, जसलाई कोरोना कहरले आर्थिक अवस्था जर्जर भएको छ । तर पनि महिनौपछि जनकपुरधाम बजार ग्राहकको भीडभाडले व्यवसायीलाई केही राहतको काम गरेको छ । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x