मधेश

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह

इकागज |
मंसिर १४, २०७९ बुधबार ६:३६ बजे

धनुषा- जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् ।

विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज(दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।


जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरुप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ ।

यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठितरुपमा हुने आयोजकको भनाइ छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ । रासस


Author

थप समाचार
x