मधेश

मधेशमा सरकार : सत्ता गठबन्धन आन्तरिक तयारीमा, प्रतिपक्षी पर्खाइमा

सुभाष कर्ण |
मंसिर १५, २०७९ बिहिवार २०:५३ बजे

फाइल तस्बिर

जनकपुरधाम । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्नपछि समानुपातिकतर्फको परिणाम नआउँदै मधेशमा सरकार बनाउने कसरत शुरु भएको छ ।

सत्ता गठबन्धनका कांग्रेसले आन्तरिक तयारी थालेको छ भने प्रतिपक्षी एमाले—जसपा गठबन्धन सत्तारुढ गठबन्धनले चाल्ने रणनीतिको पर्खाइमा छ । यता निर्णायक भनिएका जनमत पार्टी समेत सत्तारुढ गठबन्धनको बन्ने सरकारमा सहकार्य गर्ने सहमति जनाईसकेका छन ।


प्रदेश सरकार बनाउने सहज बहुमतको नजिक पुग्न थालेपछि सत्तारुढ गठबन्धनका दलहरु नयाँ सरकार निर्माणका लागि आन्तरिक छलफल थालेका छन् । सत्तारुढ गठबन्धनका ठूला दल रहेका नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले आफ्नो गठबन्धन बहुमत आउने निश्चित रहेकाले सरकार बनाउन आन्तरिक तयारी थालिएको बताए ।

उनले भने ‘समानुापतिकतर्फको परिणाम आउन बाँकी रहेपनि सत्तारुढ गठबन्धन सरकार बनाउने बहुमत नजिक छन् । गठबन्धनभित्र दलहरुबीच छलफल शुरु गरिसकेका छौं, गठबन्धनमा रहेका दलहरु पनि सरकार बनाउनेमा एकमत छन् । चाँडै नै औपचारिक बैठक गरेर टुँगोमा पुग्नेछौं ।’

बहुमत नआए स्वतन्त्रलाई पनि समेट्ने वा जनमत पार्टीको सहयोग लिने भन्नेमा सभापति यादव स्पष्ट छन् । ‘सत्तारुढ गठबन्धनमा हाल रहेका दलहरु नै मिलेर सरकार बनाउन सक्छन् तर जनमत पार्टी पनि सहकार्य गर्ने सहमति जनाइसकेकाले कांग्रेस नेतृत्वमा बहुमतको सरकार बन्ने निश्चित छ । जहाँसम्म स्वतन्त्र सांसदको कुरा हो, तिनीहरु गठबन्धनसँगै आए अझ राम्रो हुनेछ ।’ उनले भने ।

सत्तारुढ गठबन्धनको नेतृत्वमा सरकार बने तपाईको मुख्यमन्त्रीको दावेदारी हुन्छ कि भन्ने प्रसंगमा उनले भने–‘पार्टीभित्र म लगायत अन्य साथीहरु पनि आकांक्षी छन् । तर त्यसको लागि त पहिला संसदीय नेता चयन प्रक्रिया सम्पन्न हुनुपर्छ । हुनत प्रदेश सभापतिको नाताले मुख्यमन्त्री पदमा दावेदार म नै हुनेछु । तर यस सम्बन्धमा पार्टी भित्र छलफल बाँकी नै छ ।’

कांग्रेसले सरकारको नेतृत्व गरे मुख्यमन्त्रीका प्रबल दावेदार रहेका रामसरोज यादवले पनि सरकार बनाउने बारे गठबन्धनभित्र छलफल शुरु भइसकेको बताए । मुख्यमन्त्रीको दाबेदारीबारे उनले आफूले पार्टीमा कुरा राखिसकेको बताए । ‘आफूलाई मुख्यमन्त्री दिए प्रदेशको अर्को चुनाव लड्ने छैन । आफूले दावेदारी राखेपनि संसदीय नेता चयन प्रक्रियापछि मात्रै केही भन्न सकिनेछ ।’ उनी भन्छन् ।

सत्तारुढ गठबन्धन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलपनि आकांक्षी देखिएका छन् । चुनाव गठबन्धनकै बेला छलफलको क्रममा लोसपाले मुख्यमन्त्री पाउने भन्ने शर्त समेत छलफलमा राखेका थिए ।

सत्ता गठबन्धनका नेकपा माओवादीका नेता समेत रहेका मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले सरकार बनाउन छलफल भइसकेको बताउँदै भने–‘सरकार बनाउनेबारे गठबन्धनभित्र आन्तरिक छलफल शुरु भइसकेको छ तर नेतृत्व कसले गर्ने भन्ने बारे अहिले कुरा भएको छैन ।’

प्रतिपक्षी गठबन्धन नेतृत्वकर्ता एमालेका प्रदेश अध्यक्ष रामअवतार यादवले समानुपातिकको पनि परिणाम आउन बाँकी रहेकाले अहिलेसम्म तयारी नथालिएको सुनाए । ‘तर अब चाँडै नै गठबन्धन भित्रका दलहरु र पार्टी भित्र आन्तरिक छलफल अघि बढाउनेछु ।’ उनले भने ।

प्रतिपक्षी गठबन्धन आबद्ध दल जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले गठबन्धनभित्र रहेर नै सरकार बनाउने बताए । ‘अहिले समानुपातिकको पनि परिणाम आएको छैन, पहिला हामी सत्तारुढ गठबन्धनको क्रियाकलाप हेर्छौ त्यसपछि हाम्रो गठबन्धनले रणनीति बनाएर अघि बढनेछ ।’ उनले भने ।

प्रतिपक्षी गठबन्धनका नेतृत्वकर्ता एमालेभित्र मुख्यमन्त्री को बन्ने भन्नेबारे अहिलेसम्म कुनै छलफल भएको छैन भने गठबन्धन दल आबद्ध जसपाबाट मुख्यमन्त्री लालबाबु राउत समेतले दोहरिने दाबी गरेको श्रोतले जनाएको छ । जसपाले ९ वटा सिट मात्र जितेपनि ३ जना स्वतन्त्र सांसद जसपाकै असन्तुष्ट रहेकाले तिनीहरुलाई मिलाउने प्रयास थालिसकिएको बुझिएको छ । समानुपातिकको परिणाम आएपछि जसपाले मुख्यमन्त्रीमा आफ्नो दाबी गर्ने बुझिएको छ ।

यता जनमत पार्टीले सरकारमा सहभागी हुने सोच बनाएपनि आफ्नो एजेण्डा अघि सारेका छन । जनमत पार्टीका प्रवक्ता बीपी साहले आफ्नो पार्टी सरकारमा जाने बताए । ‘तर सौद्धान्तिक रुपमा आफ्नो पार्टी एक्लै समानुपातिक सहित १४ सिट ल्याउने सम्भावना रहेकाले हामी नेतृत्वको दाबी गर्नेछौं,’ उनले भने, ‘नेतृत्व नपाएपनि आफ्नो एजेण्डामा जुन दल अघि बढछ त्यो गठबन्धनसँग हामी सहकार्य गर्नेछौं ।’

प्रत्यक्षतर्फ एमालेले १५ स्थान जितेको र समानुपातिकबाट ११ सिट थपिने निश्चित जस्तै छ । जसपाले प्रत्यक्षमा ९ र समानुपातिकबाट ७ सिट प्राप्त गर्ने संभावना रहेको छ । जनमत पार्टीको प्रत्यक्षमा ६ र समानुपातिकमा ७ सिट आउने संभावना छ । एमालेको २५, जसपाको १६ र जनमतको १४ समेत ५५ सांसद हुने आंकलन देखिन्छ ।

सत्तारुढ गठबन्धनमा प्रत्यक्षतर्फ कांग्रेसले १३ जितेको र समानुपातिकमा १० सिट आउने निश्चित छ । माओवादीको प्रत्यक्षमा ४ र समानुपातिकामा ६, लोसपाको प्रत्यक्षमा ७ र समानुपातिकामा ५, नेकपा एसको प्रत्यक्षमा ४ र समानुपातिकमा ५ सहित ५४ सिट आउने देखिन्छ । दुवै गठबन्धनको यस्तै अवस्था कायम रहे भने स्वतन्त्र सांसदको आवश्यकता नपर्न पनि सक्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x