मधेश

खतरनाक कोभिड–१९ लहर, ‘लखतरान’ प्रदेश सरकार

नियन्त्रणको तयारी कागजमै सीमित

सुभाष कर्ण |
बैशाख १३, २०७८ सोमबार ११:५६ बजे

जनकपुरधाम : ‘यूके भेरिएन्ट’सहित कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भइसकेको छ। यसले प्रदेश–२ लाई पनि अछुतो राख्न सकेको छैन। महामारीको दोस्रो लहर सुरु भएको महिना गुज्रिसक्दा पनि प्रदेश सरकारको तयारी कागजमै सिमित रहेको देखिन्छ । 

प्रदेशमा संक्रमण तिब्र गतिमा फैलिँदै गर्दा प्रदेश सरकारले विभिन्न समिति बनाउने र निर्णय गर्ने बाहेकका कुनै काम गर्न सकेको छैन । कोभिड संक्रमण उपचार, रोकथाम तथा नियन्त्रणको पूर्व तयारीको आभावमा जोखिम बढदै गएको छ । प्रदेश सरकारले हालसम्म प्रदेशमा न कुनै नयाँ कोभिड अस्पताल निर्माण गरिएको छ, न पुराना अस्पताललाई संचालनमा ल्याएको छ । 


आइसोलेशन आभावमा संक्रमितलाई होम आइसोलेशनमै सिफारिस गरिन्छ । प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा आइसोलेशन निर्माण गर्ने, मणिपालमा नयाँ कोभिड अस्पताल निर्माण गर्ने, कोभिड चेकजाँचका लागि तिब्रता दिन प्राविधिक सहयोग गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन । कोभिड संक्रमण रोकथाम एवं नियन्त्रणका लागि प्रदेश सरकारको निष्क्रियताप्रति प्रतिपक्षी दलका नेता तथा सांसदले कडा आलोचनासमेत गरेका छन् । 

नेकपा एमालेका प्रदेश सभा सदस्य सुन्दरबहादुर विश्वकर्माले कोभिड पुनः फैलिँदै गएको र रोकथाममा प्रदेश सरकारले कागजी निर्णय बाहेक केही गर्न नसकेको आरोप लगाएका छन् । ‘प्रदेशभित्र कोरोनाले भयावह रुप लिँदै गएको छ तर प्रदेश सरकारले आइसोलेशन, क्वारेन्टाइन र कोभिड अस्पताल बनाउने गर्ने निर्णय गरेको थियो तर हालसम्म निर्माण गर्न सकेको छैन’, उनले भने,‘अहिले कोरोना संक्रमण भयावह अवस्था आइसकेको छ, वीरगन्जका अस्पतालमा अक्सिजन र बेडको आभाव हुन थालेको छ, आक्सीजन र बेड आभावमा संक्रमितहरु घरमै मर्न बाध्य छन, प्रदेशमा विपद व्यवस्थापन समिति पनि छ तर प्रदेशमा मैले कुनै तयारी देखेको छैन ।’

त्यसैगरि नेपाली काग्रेसका प्रदेश–२ का संसदीय दलका नेता रामसरोज यादवले अहिले छिमेकी राष्ट्र भारतमा ३ लाखभन्दा बढी संक्रमित फेलापरेको र अव्यवस्थित सीमाका कारण नयाँ भेरियेन्टको कोरोना नेपालतर्फ प्रवेश गरेको खबर आइरहेको बताए । उनले प्रदेश सरकारले अहिलेसम्म कोभिड अस्पतालसमेत बनाउन नसकेकोमा आपत्ति जनाए । 

‘मैले थाहा पाएअनुसार प्रदेश सरकारसँग कर्मचारी छैनन् । पहिले पनि प्रदेश सरकारले कोभिडको समय काम गरेका कर्मचारीलाई दोब्बर तलब दिने भनेको थियो तर उनीहरूले आफ्नो तलबसमेत पाएनन्’, यादवले प्रदेश सरकार निकम्मा रहेको टिप्पणी गर्दै भने । 

प्रदेशका सबैभन्दा बढी प्रभावित पर्सा, बारा र रौतहट जिल्ला छन् । तर, प्रदेश सरकार जुन रुपमा तयारी गरिनुपर्ने हो त्यस अनुसारले नगरेकै कारणले अवस्था निकै भयावह बनेको हो । अहिले प्रदेशमा ११४२ सक्रिय संक्रमित रहेको छ ।

कोभिड महामारीको जोखिम कम गर्न स्वास्थ्य क्षेत्रको लगानी दोब्बर गरिने भनेर सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरेको छ । तर, पछिल्लो समय त्यसको कार्यान्वयन हुन सकेको छैन । बाराको कलैयामा सरुवा रोग तथा आकस्मिक महामारीबाट बच्न एकीकृत स्वास्थ्य नितिको साथै २०० शैया सहितको प्रादेशिक सरुवा रोक नियन्त्रण अस्पताल र जनकपुरधामस्थित मणिपालमा प्रादेशिक कोभिड अस्पताल निर्माण गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । तर, यो प्रतिवद्धता काजगमै सिमित रह्यो । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x