मधेश

मधेसको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

इकागज |
मंसिर २२, २०७९ बिहीबार १९:४ बजे

फाइल फोटो

धनुषा - मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् ।

एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमाले समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । 


प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी नौ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ । विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट ल्याएको छ ।

प्रत्यक्षमा छ सिट जितेको जनमत पार्टी समानुपातिकमा सात सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौँ दल भएको छ ।

 मधेसमा नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिकमा चार÷चार गरी आठ सिट जितेको छ ।  नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट पाएको छ ।

प्रत्यक्षमा छ सदस्य स्वतन्त्र उम्मेदवारीबाट आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक÷एक सिट जितेका छन् ।
 


Author

थप समाचार
x