मधेश

महिला पत्रकारलाई सजग भएर काम गर्न आग्रह

सुभाष कर्ण |
मंसिर २२, २०७९ बिहीबार २०:१५ बजे

जनकपुरधाम- महिला पत्रकारलाई कार्य स्थलमा आफैँ सजग र सचेत रहन आग्रह गरिएको छ ।

बिहीबार १६ दिने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका अवसरमा फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ धनुषाको संयोजनमा 'सञ्चार क्षेत्रमा महिलाको सहभागिता र सुरक्षा' विषयक बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।


सो कार्यक्रममा सहभागी वक्ताहरूले शहिद पत्रकार उमा सिंहको हत्यापछि असुरक्षा बढे पनि महिला पत्रकारहरूको सक्रियता बढेको बताए । महिला पत्रकारहरूलाई कार्य स्थलमा हुने असुरक्षाका लागि आफैँ सचेत र सजग रहन जरुरी रहेको कुरामा वक्ताहरूले जोड दिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारिता क्षेत्रको विकासका लागि जनकपुरधाम उपमहानगरपालिका गम्भीर रहेको बताए । उनले पत्रकारहरूले सामाजिक विकृति विसंगतिको अन्त्य गर्नका लागि क्रियाशील हुन आवश्यक रहेको कुरामा जोड दिए ।

उनले भने, 'पत्रकारिता आफैँमा जोखिमपूर्ण पेशा हो, समाचारको कारणले प्रभावित पक्षबाट यस पेशामा लागेका महिला र पुरुष दुवै जोखिममा रहेकाले पहिला आफैँ सुरक्षित हुन पर्छ ।'

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्रले महिला पत्रकारहरू कार्य स्थलमा बढी असुरक्षित महसुस गर्ने गरेकाले स्वयं सुरक्षित भएर पत्रकारिता गर्न आवश्यक रहेको बताइन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले महिला पत्रकारहरू पहिलाभन्दा निकै सशक्त भएर अगाडि बढ्न थालेकोमा खुसी व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष नेहा झाले सञ्चार क्षेत्रमा महिलाको सहभागिता र सुरक्षा विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x