मधेश

जनकपुरधाम उपमहानगरले टुंग्यायो जग्गा वर्गीकरण

सुभाष कर्ण |
मंसिर २३, २०७९ शुक्रबार १७:१७ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले जग्गा सम्बन्धी वर्गीकरण विषय टुंग्याएको छ । उपमहानगरले कृषि र गैरकृषि गरी दुई भागमा नगरभित्रका जग्गाहरूको वर्गीकरण गरेकाे हाे ।

२५ वटा वडा रहेकाे उपमहानगरमा वडा नम्बर १ देखि १४ सम्मको जग्गालाई गैरकृषि क्षेत्र र १५ देखि २५ सम्मका लाई कृषि र गैरकृषि क्षेत्र अवस्था हिसाबले घोषणा गरेको छ । वडा नम्बर १२ लाई समेत केही जग्गालाई कृषि क्षेत्रमा राखेको छ ।


गत ८ महिनादेखि रोकिएको कित्ताकाट जग्गा वर्गीकरण पश्चात खुल्ने उपमहानगरपालिकाका प्रमुख मनोज साहले बताएका छन् । उनले भने, 'महिनौँदेखि रोकिएको कित्ताकाट अब जग्गाको वर्गीकरणपछि खुल्ने भएको छ । त्यसका लागि हामीले मालपोत र नापी कार्यालयमा चाँडै नै पत्राचार गर्नेछौं ।'

जग्गा वर्गीकरणका क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्र (गैरकृषि) को ८ धुर जग्गा र कृषि क्षेत्रको २ कट्ठाभन्दा बढीको कित्ताकाट हुने कुरा यथावत् रहेको छ । साथै उनले जग्गाको वर्गीकरण भए पनि रजिष्ट्रेसनलगायतका शुल्कमा कुनै परिवर्तन नगरिएको जानकारी दिए ।

'जग्गा धनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे उपमहानगरपालिका कार्यालयमा निवेदन दिन सक्छन्, जग्गा धनीको चाहनाअनुसार सबै वडामा त्यस्ता जमिनलाई कृषि योग्यमा राखिनेछ,' उनले भने, 'गैरकृषि क्षेत्रमा रहने जग्गाको मूल्यांकन बैंकलगायत सरकारी निकायहरूले कम पर्ने भएकाले सहरी क्षेत्रमा कृषि योग्य जग्गा राख्न धनीहरूले चासो देखाएनन् ।'

ऐनमा स्पष्ट व्यवस्था नभएका कतिपय विषयमा भू–उपयोग परिषद्काे निर्णयको हिसाबले हुने भएकाले भूउपयोगमा कुनै समस्या देखिए उपमहानगरपालिकाको कार्यपालिकाले निर्णय गरी समाधान गर्नसक्ने उनले बताए । वर्गीकरण नभएका कारण कित्ताकाट रोकिन गएपछि नगरवासीहरू निकै समस्या भोग्दै आएका थिए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x