मधेश

यमपञ्चकको पहिलो दिन भगवान् हनुमानको पूजा र शक्ति चर्चा

सुभाष कर्ण |
कात्तिक २८, २०७७ शुक्रबार १५:२८ बजे

जनकपुरधाम : नेपालीहरुको चाडतिहार यमपञ्चक पहिलो दिन भगवान हनुमानको पाजपाठ गरी मिथिलाञ्चलमा हनुमान जयन्ती मनाइदैछ । देशका विभिन्न स्थानमा यमपञ्चकको पहिलो दिन काग तिहार मनाउने प्रचलन छ, । तर मिथिलाञ्चलसहित तराई मधेशमा दीपावलीको पूर्वसन्ध्यामा भगवान् हनुमानको जन्मदिन स्मरणमा हनुमान जयन्ती मनाउने परम्परा छ ।

कोरोना संक्रमण त्रासबीच हनुमान जयन्ती परेको हुनाले यसवर्ष अन्य वर्षझैँ भव्यतापूर्वक नमनाई विभिन्न मठ–मन्दिरमा बृहत् सुन्दरकाण्ड पाठ र घरघरमा भगवान् हनुमानको पूजा आराधना गरी मनाइँदै छ ।


हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित संकटमोचन मन्दिर, युगलजोडी दुलाहा–दुलही मन्दिर, विहारकुञ्जलगायतका मन्दिरहरुमा हनुमान चालिसा पाठ र सुन्दरकाण्ड पाठसहित भजन–कीर्तन लगायतको कार्यक्रमको शुक्रवार बिहानैदेखि आयोजना गरिएको छ ।

हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले बिहानै जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजाका साथ शोभायात्रा निकालेका छन् । सो शोभायात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै दुलहा-दुलही मन्दिरमा गई सम्पन्न भएको थियो ।

विगत १० वर्षदेखि परिषद्ले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ हनुमान जयन्ती मनाउँदै आए पनि यसवर्ष कोरोना संक्रमण जोखिमको दृष्टिगत गर्दै भव्यता नगरी औपचारिकतामा भगवानको पूजापाठ र सुन्दरकाण्डलगायतका कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

यता जनकपुरधामस्थित भगवान हनुमान प्रसिद्ध मन्दिर संकटमोचन मन्दिरमा प्रत्येक वर्षझै‌ विषेश पूजापाठ तथा भोगको आयोजना गरिएको छ ।

मन्दिरका पूजारी आनन्द शरण दासले कोरोनाका कारण मन्दिरमा भीडभाड नहुने गरी विशेष पूजापाठ तथा हनुमान आराधना र सुन्दरकाण्ड पाठ कार्यक्रम विभिन्न मण्डलीद्वारा आयोजना गरिएको बताए ।

अन्य वर्षहरुमा भगवान हनुमानको मन्दिर भएको ठाउँहरुमा हनुमान आराधना, हनुमान चालिसा, सुन्दरकाण्ड गितीपाठ र भजन-कीर्तनलगायत भव्य कार्यक्रम आयोजना गरिन्थ्यो । सो कार्यक्रमहरुमा सयौंको भीड हुने गथ्र्यो । तर यसपटक त्यस्तो रमझम देखिएको छैन ।

भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भूतप्रेत पिसाचबाट भयमुक्त हुने र परिवारमा सुखशान्ति आउने जनविश्वास छ । तिथिअनुसार कात्तिक कृष्ण पक्षको चतुर्दशी शुक्रबार परेको हुनाले आज हनुमान जयन्ती मनाइँदैछ ।
धर्मग्रन्थहरुमा भगवान हनुमान
विभिन्न कालखण्डमा भगवानको अनेक रुप पृथ्वीमा अवतरण भएको हो । तर भगवानको चर्चा त्रेता र द्वापर युगमा शक्तिशालीको रुपमा गरिएको छ ।

खासगरी त्रेतायुगमा भगवान श्रीरामको अनन्य भक्तको रुपमा श्रीरामचरितमानसमा उल्लेख छ । रामचरित्रमानिसमा भगवान शंकरको अवतारको रुपमा केसरी र अञ्जनीको पुत्रको रुपमा हनुमानको जन्म भएको हो । हनुमानलाई ११ औँ रुद्रावतारको रुपमा लिइन्छ ।

माता अञ्जनिको कठोर तपस्याबाट प्रसन्न भई वर माग्नभन्दा भगवान शंकरलाई नै आफ्नो पुत्रको रूपमा पाउने इच्छा जाहेर गरेपछि हनुमान रुपमा अवतरित भएको कुरा विष्णु पुराणमा उल्लेख छ ।

भगवान श्रीरामसँग हनुमानको भेट वनवास कालमा भएको हो । रावणले सीतालाई अपहरण गरेर राखेको ठाउँ हनुमान नै पत्ता लगाएर श्रीरामको सहयोग गरेका थिए । त्यति मात्र होइन भगवान श्रीराम र उनका भाई लक्ष्मणलाई रावणसँग युद्धको समयमा नागपासबाट बचाउनुका साथै रावणको सुनको लंकासमेत जलाएका थिए ।
बज्रपातबाट घाइते भई मरनासम्म अवस्थामा पुगेका लक्ष्मणलाई बचाउन लक्ष्मण बूटी ल्याउन मन्दराचल पर्वत नै उठाएर ल्याएका थिए । भगवान हनुमानलाई मृत्यु नहुने अमर पुरुषको रुपमा रामचरित्रमानसमा उल्लेख गरिएको छ । उहाँ कलयुगको अन्त्यसम्म जीवित नै रहने र भगवान् श्रीरामको प्रचारक रुपमा कार्य गर्ने विभिन्न धर्मग्रन्थमा भनिएको छ ।

यसका साथै द्वापर युगमा पाण्डव वनवास रहेको बेला भीमसँग भेटघाट भएको थियो र कौरवसँगको युद्धमा पाण्डवलाई अप्रत्यक्षरुपमा सहयोग गरेको थियो ।
हनुमानलाई प्रिय सिन्दुर
भगवान श्रीरामको अनन्य भक्त हनुमानलाई सीतारामको चर्चा भइरहेको स्थान र महिलाहरुले सिउँदोमा लगाउने सिन्दुर अति नै प्रिय छ ।

तुलसीदासकृत रामायणमा भनिएको छ, भगवान श्रीराम वैकुण्ठधाम जानेबेलामा सबै जीवजन्तु र सहयोगीलाई सँगै लगेका थिए । तर हनुमानलाई तिमी पृथ्वीमै बस र कलयुगको अन्त्यसम्म धर्मको नाश हुनबाट जोगाउने र जहाँ जहाँ सीतारामको चर्चा हुन्छ त्यहाँ तिम्रो बास हुन्छ भनी आदेश दिएका थिए ।

जहाँसम्म सिन्दुर हनुमानलाई किन प्रिय छ भन्ने त्यसको अलग्गै किवन्दती छ — एकपटक माता सीताले सिन्दुर लगाइरहेकी थिइन् ।  यो देखेर हनुमानलाई निकै आश्चर्य लाग्यो र उनले माता सीता सोधे, यो के हो र किन लगाइन्छ ।

सीताले भनिन् यो सिन्दुर हो यो लगाएपछि प्रभुसँग कहिले प्रगाढ माया हुन्छ । यो सुनेर उनले भगवान श्रीरामबीचको माया बढाउन पुरै जिउमै सिन्दुर पोतिलिए । त्यस बेलादेखि भगवान हनुमानको मूर्ति आजसम्म सिन्दुरले पोतिएको लाल रंगकै हुन्छ ।

भगवान् हनुमान पूजाको महत्व
हनुमानलाई वैष्णव सम्प्रदायमा ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्दै आएका छन् ।

उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट,  भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिसाची शक्तिबाट, राक्षसी शक्तिको प्रकोपबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास वैष्णव सम्प्रदाय र हिन्दु धर्मावलम्बीहरुमा रहेको छ ।

भक्तियोग मानिएका हनुमानको पूजापाठ खासगरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नका लागि गर्ने गरिन्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x