मधेश

प्रदेश-२ : अस्पतालमा भेन्टिलेटर छन्, जनशक्ति छैन

सुभाष कर्ण |
बैशाख १५, २०७८ बुधबार १४:४७ बजे

जनकपुरधाम : प्रदेश–२ मा जनशक्ति नहुँदा भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । कोभिड–१९को नयाँ भेरिएन्टसहितको दोश्रो लहर तिब्र गतिमा फैलिलएपछि प्रदेश सरकारले भेन्टिलेटर र आईसीयूको व्यवस्था गरे पनि दक्ष जनशक्ति आभावमा प्रयोगविहीन बनेका हुन् । 

प्रदेशमा संक्रमितको संख्या एक हजार बढी पुगिसकेको छ । आइतबार मात्रै भेन्टिलेटर अभावमा सर्लाहीमा एक संक्रमितको मृत्यु भएको थियो । संक्रमितको संख्या दिनदिनै बढिरहँदा उपचारका लागि अत्यावश्यक आईसीयू र भेन्टिलेटर उपकरण चलाउने जनशक्ति नै छैनन् । 


गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका मेसु डा।रञ्जित कुमार झा अस्पतालमा ४-४ वटा भेन्टिलेटर भएपनि दक्ष जनशक्तिको आभावमा प्रयोगविहीन रहेको बताउँछन् । उनका अनुसार गत वर्ष पनि भेन्टिलेटर भएको अवस्थामा जनशक्ति आभावमा बिरामीलाई थप उपचारका लागि रेफर गर्नुपरेको थियो । भेन्टिलेटरमा आक्सिजनसम्मको सेवा यहाँकै कर्मचारीले दिँदै आएको र एचडीयूसहितको सेवा जनशक्ति आभावमा दिन सक्ने अवस्था नरहेको डा। झा बताउँछन् । उनका अनुसार अहिले खासै समस्या छैन तर गम्भीर प्रकृतिका संक्रमित आएको अवस्थामा समस्या हुने देखिन्छ । 

जलेश्वर अस्पतालको अवस्था पनि त्यस्तै छ । भेन्टिलेटर लगाएको एक वर्ष बित्न लाग्दा पनि जनशक्ति आभावका कारण प्रयोगमा आउन नसकेको अस्पतालका मेसु डा।दिपेन्द्र साह बताउँछन् । उनी भन्छन्,'भन्टिलेटरमै राखेर उपचार गर्ने खालका संक्रमित अहिले त आएका छैनन् तर त्यस्ता बिरामी आएको अवस्थामा समस्या हुन सक्ने र जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारलाई कयौँ पटक ताकेता गर्यौँ तर कुनै चासो दिइएको छैन ।'

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नवल झाका अनुसार प्रदेशमा ४५ वटा भेन्टिलेटर उपलब्ध छन् । प्रदेशको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेशनल मेडिकल कलेजमा १०, जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको उनले बताए ।  त्यस्तै महोत्तरीको जलेश्वरमा ५, सप्तरीको राजविराजमा ४, बाराको कलैयामा २, रौतहटको गौरमा ४, सिरहामा २ र लहानमा १ वटा भेन्टिलेटर छन् । सर्लाहीमा एउटा पनि भेन्टिलेटर नरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । ‘भेन्टिलेटर भएका ठाउँमा जनशक्ति छैन,’ झाले भने, ‘कतिपय ठाउँमा भेन्टिलेटरसमेत छैन । उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ ।’

भेन्टिलेटर, आइसीयू र हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) उपलब्ध भएका ठाउँमासमेत चलाउन जान्ने जनशक्तिको अभाव रहेको उनले बताए । ‘वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा दक्ष जनशिक्त छ,’उनले भने,‘बाँकी जनकपुरधामको प्रादेशिक अस्पतालमा जसोतसो चलिरहेको छ, अन्यमा प्रयोग नभइ थन्किएका छन् ।’

प्रदेशमा ७१ बेडको आईसीयू तयारी अवस्थामा छ । स्वास्थ्य महाशाखा प्रमुख झाका अनुसार वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगंजकै नेशनल मेडिकल कलेजमा २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा १०, रौतहटको गौरमा १० वटा र जलेश्वरमा ५ र सिरहामा ५ बेडको आईसीयू छ । प्रदेशमा १८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयु)को व्यवस्था गरिएको झाले बताए ।

उनका अनुसार वीरगंजको नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ बेडको एचडीयू रहेको छ । त्यस्तै वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र राजविराजमा २५/२५ बेडको एचडीयूको व्यवस्था गरिएको हो । त्यस्तै बाँकी जिल्लाहरूमा १५/१५ बेडको एचडीयूको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारी दिए । 

स्वास्थ्य महाशाखा प्रमुख नवल झाले जनशक्ति आपूर्तीका लागि आठवटै जिल्लाका अस्पतालहरूलाई रिक्त दरबन्दी कति रहेको विषयमा पत्र लेखि सकिएको बताए । उनले प्रदेश सरकार करारमा पनि कर्मचारी भर्ना गरेर जनशक्ति अभाव सम्बन्धि समस्या समाधान गर्न तयार रहेको बताए । कोभिड संक्रमणको सम्भावनाको हिसाबले प्रदेश २ लाई उच्च जोखिममा रहेको छ ।

प्रदेशमा अहिले कुल १ हजार १ सय ४२ जना सक्रिय संक्रमित छन् । जसमध्ये पर्सामा मात्रै ७ सय १९ जना कोभिड संक्रमित रहेको प्रदेश–२को स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबारसम्ममा बारामा १ सय ४९, धनुषामा १ सय १८, रौतहटमा ७६, महोत्तरीमा ४२, सिरहामा १५, सप्तरीमा १२ र सर्लाहीमा ११ जना कोरोना संक्रमित रहेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x