मधेश

प्रदेश सरकारले सार्वजनिक बस किन्दा व्यवसायीहरूको विरोध

सुभाष कर्ण |
कात्तिक २८, २०७७ शुक्रबार २०:३५ बजे

जनकपुरधाम : आम जनतालाई सहुलियत दरमा यातायात सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश-२ सरकारले बस किनेपछि यातायात व्यवसायीहरूले विरोध गरेका छन् । कोभिड-१९ को महामारीमा व्यवसायी परिरहेको बेलामा प्रदेश सरकारले झन पिडा थप्‍ने काम गरेको व्यवसायीहरूले बताएका छन् ।  माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.का अध्यक्ष मनोज चौधरीले कोभिडका कारण यातायात व्यवसायी ७ महिनादेखि आर्थिक मार झेलिरहेको अवस्थामा प्रदेश सरकार थप पीडा दिने काम गरेको बताए । 

चौधरीले कोभिड त्रासका कारण जनकपुरधामबाट मुश्किलले ३५/४० गाडी मात्रै संचालनमा रहेकाले बस व्यवसायीहरु घाटा सहेर अल्टरनेट रुपमा बस संचालन गर्दै आइरहेको बताए । दिनहुँ घाटामा गइरहेका बस व्यवसायलाई प्रोत्साहन गर्नुको सट्टा कमीशनको चक्करमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले थप पीडा दिने काम गरेको आरोप लगाए ।


श्री रामजानकी ट्राभ्लसका संचालक नरेश साहले जनतालाई कोभिडको चेकजाँच र उपचारको व्यवस्था नगरी संक्रमणकालिन अवस्थामा कमीशनको चक्करमा बस किनेर आफूहरुलाई पीडा दिने काम प्रदेश सरकारले गरेको बताए । बस किन्‍नु भन्दा संचालन गर्नु प्रमुख चुनौती भएको उनको भनाइ छ ।  यसअघि नेपाल सरकारले साझा यातायात संचालन गरेर घाटा व्योहर्दै आएको अवस्थामा ६ महिनाभन्दा बढी समय घाटा सहेर प्रदेश सरकार संचालन गर्न नसक्ने उनले बताए । 

 साह जस्तै अन्य बस व्यवसायीहरुलेले पनि बस व्यवसायीहरूलाई बैंक ऋण र ब्याजमा सहुलियत दिन माग गरेका छन् । 

प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले निजी बस व्यवसायीहरूले भाडा बढी लिने गरेको भन्दै प्रदेशवासीको यातायातमा सहजताको लागि ५ वटा बस किनेको छ । गत आर्थिक वर्षमै किनिएको बस बोर्डर बन्द रहेकाले गत सातामात्रै अस्थायी राजधानी जनकपुरधाम ल्याइएको छ । प्रदेश परिवहन नाम दिइएका बस सप्तरी राजविराजदेखि पर्साको बिरगंजसम्म संचालन हुनेछन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x