मधेश

फुक्काफाल सीमा : 'भयानक महामारी'को सुरुवाती चित्र

न होल्डिङ्ग सेन्टर, न क्वारेन्टाइन, न सीमा सतर्कता, चोरबाटो ओहोरदोहोर !

सुभाष कर्ण |
बैशाख १६, २०७८ बिहीबार ११:४३ बजे

जनकपुरधाम : कोभिड–१९ महामारीका कारण पछिल्लो समय भारत संकटपूर्ण अवस्थामा छ । भारत अहिले विश्वकै सबैभन्दा बढी संक्रमितको मुलुकको सूचीमा परेको छ । यहाँ मृत्यु हुने मानिसहरूको संख्या दिनहुँ हजारौँले बढिरहेको छ । 

भारतमा कोभिड महामारीले सीमा नाघिसकेको अवस्था छ। यसको प्रभाव नेपालको सीमावर्ती क्षेत्रमा पर्ने निश्चित देखिन्छ। चर, नेपालको तर्फबाट आवश्यक सतर्कता अपनाइएको भने देखिँदैन । प्रदेश–२स्थित विभिन्न सीमा क्षेत्रबाट दिनहुँ हजारौँको भिड नेपाल भित्रिन्छ । यही कारण यसअघि कोभिडको ‘हटस्पट’ बनिसकेको यो प्रदेश खुल्ला सीमाका कारण फेरि अर्को पटक ‘हटस्पट’ बन्ने संकेत देखिन्छ । 


प्रदेशका आठवटै जिल्ला भारतको सीमासँग जोडिएका छन् । ती सीमा नाकाबाट नेपाली तथा भारतीय नागरिक दैनिक रुपमा भित्रिदै आएपनि सरकारले कुनै सतर्कता नअपनाई आवातजावतमा गर्न दिएको छ । संक्रमणले आक्रान्त बनेका भारतबाट फर्किने नेपाली कामदारको व्यवस्थापनका लागि न होल्डिङ्ग सेन्टर नै राखिएको छ । न त क्वारेन्टाइनको व्यवस्था छ । यही कारण प्रदेशमा कोभिड संक्रमण तिब्र रुपमा फैलिरहेको छ । 

सीमा नाकामा न कुनै हेल्थ डेस्क राखिएको छ, न स्वास्थ्य सुरक्षाको न्यून्तम मापदण्ड अपनाइएको छ । भारतबाट नेपाल भित्रिनेहरू चेकजाँच बिनै भित्रिइरहेका छन् । यही कारण संक्रमण बढन सक्ने सम्भावना बढेको छ । रोजगारीबाट फर्किनेहरू भन्दा सीमावर्ती क्षेत्रका नागरिकले किनमेलका लागि दैनिक रुपमा भारत–नेपाल ओहोरदोहोर गरिरहेका कारण असुरक्षा बढेको हो । 

रोजगारी गरेर लामो दूरीबाट फर्किनेको तथ्यांक त प्रहरीसँग छ तर दैनिक रुपमा किनमेल गर्न जानेहरू, आउनेहरू र नातेदारको घरबाट फर्किनेहरूको कुनै तथ्यांक नेपाली पक्षसँग छैन । खुल्ला सीमा नाका भएका कारण उनीहरू नाकाभन्दा पनि नजिक रहेका खेत र चौरको चोरबाटो हुँदै ओहोरदोहोर गरिरहेका छन् । यो कारणले गर्दा तथ्यांक संकलन गर्न नसकिएको सीमा सुरक्षामा खटिएका अधिकृतहरूको भनाई छ । 

प्रदेशस्थित सप्तरीको कुनौली, सिरहा माडर, धनुषाको इनर्वा, जटही, महोत्तरीको भिठामोड, मटिहानी, सर्लाहीको सोनवर्सा, रौतहटको वैरगिनिया, पर्साको रक्सौल लगायत दर्जनौँ नाकाबाट मानिहरू आउने गरेका छन् भने चोर बाटो भएर आउनेको तथ्यांकसमेत प्रहरीसँग छैन् । 

बैशाख १ गतेदेखि २० हजार १ सय ५० जनाले विभिन्न नाकाबाट प्रवेश गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक छ । प्रदेश प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक कृष्ण प्रसाईका अनुसार बुधवार मात्रै प्रदेशको विभिन्न नाका भएर डेढ हजारभन्दा बढीले नेपाल प्रवेश गरेका छन । दिनहुँ १५ सयदेखि २ हजारसम्म मानिस नेपाल प्रवेश गर्ने गरेको प्रवक्ता प्रसाई बताउँछन् । 

भारतमा कोभिड संक्रमणले माहामारीको रुप लिएसँगै खुल्ला सीमा नाकाका कारण यसको प्रत्यक्ष प्रभाव नेपालमासमेत पर्ने देखिन्छ । तर, सरकारले कुनै तयारी नपनाउँदा प्रदेश–२ मा जोखिम बढदै गएको हो । भारतबाट आउनेहरूको जाँचका लागि सीमा नाकामा तापक्रम जाँच्ने थर्मोल गन बाहेक अरु केही छैन । सीमामा स्वास्थ्यकर्मी र हेल्थ डेस्क राख्नको लागि प्रदेश सरकारले एक महिना अघिदेखि नै सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग बहस गर्दै आएको छ । तर, धनुषा जिल्ला बाहेक अन्य कुनैपनि जिल्लामा आजसम्म यसको व्यवस्थापन गर्न सकिएको छैन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलाका चुनौती अनेक रहेकाले काम गर्न गाह्रो भएको बताउँछन् । ‘जिल्लाको जटही र इनरर्वामा हामीले हेल्थ डेस्क स्थापना गरेका छौँ तर संक्रमण रोक्न त्यो पर्याप्त छैन किनकि भारतबाट आउनेहरू निष्फ्रिकी आउजाउ गरिरहेको त्यसले झन् समस्या उत्पन्न गर्नेछ ।’ 

सीडीओ वास्तोलाका अनुसार प्रशासनले भारतबाट आउनेलाई कम्तिमा १४ दिनसम्म राख्न होल्डिङ्ग सेन्टर निर्माण गर्न प्रदेश सरकारसँग माग गरिरहेको छ । प्रदेश सरकारले कुनै चासो नलिएकोसमेत उनी गुनासो गर्छन् । पछिल्लो दिन प्रदेश–२ मा १ हजार ६ सय ५ जना कोभिडका सक्रिय संक्रमित छन् । प्रदेश प्रहरीका अनुसार मानिसहरू दिनहुँ भारतबाट आइरहेका छन् । ती मानिसहरूलाई व्यवस्थापन गर्न नसक्दा, एक अर्काको सम्पर्कमा जाँदा प्रदेशभित्र संक्रमित हुनेको संख्या बढिरहेको हो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x